छिन्नमस्ता गाउँपालिका–१ बरहीमा १३ वर्षीया बालिकाको वैशाख २८ गते बालविवाह भएको छ ।
सिरहाको बरियारपट्टी गाउँपालिका–२ जानकीनगरका जिलेश्वर रायका छोरा २१ वर्षीय मिथलेश रायले विवाह गरी वैशाख २९ गते बालिकालाई घर लगेका छन् ।
बालविवाह हुँदैछ भनी इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले एसपी नरेन्द्रकुमार कार्कीलाई जानकारी गराए पछि प्रहरी खटिएर विवाहस्थल पुगेपनि बालविवाह नरोकिएको स्थानीयवासीले बताए ।
स्थानीयवासीले समेत जिल्ला प्रहरी कार्यालय सप्तरीमा विवाह अगावै प्रमाणसहित उजुरी दिएका थिए । स्थानीयवासीले उजुरीसहित उपलब्ध गराएको स्थानीय पञ्जिकाधिकारीको कार्यालयको जन्मदर्ता किताबमा बालिकाको जन्म ०६७ भदौ २५ गते उल्लेख छ ।
तर प्रहरीले समयमै उपयुक्त भूमिका निर्वाह नगरेकोले बालविवाह रोक्न नसकिएको स्थानीय ज्योतिष रायले बताउनु भयो । प्रहरीलाई बालविवाह बारे सूचना दिएको आरोपमा बालिकाका अभिभावकबाट ज्योतिष र राजु रायले वैशाख २८ गते राति कुटाई समेत खाएका छन् ।
स्थानीयवासीले बलिकाको बुवा अशोककुमार राय र आमा रेखादेवी राय विरुद्ध उजुरी दिएपनि प्रहरीले दर्ता नगरेको र विवाह समेत रोक्न आवश्यक कारवाही अगाडि नबढाएको उनीहरुले बताए । जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्रकुमार कार्कीले भने विवाह रोक्न इन्स्पेक्टर राजिब पहारीलाई विवाहस्थल पठाएको बताउनु भयो ।
नागरिक र अधिकारकर्मीले बालविवाह रोक्न राज्यलाई सहयोग गरेपनि राज्यले आवश्यक सहयोग नगरेकोले बालविवाह न्यूनिकरण गर्न नसकिएको गुनासो गर्नुहुँदै इन्सेक प्रतिनिधि पोखरेलले सिडिओ भूपेन्द्र थापा र राष्ट्रिय महिला आयोग मधेस प्रदेश कार्यालयसमक्ष आवश्यक कारवाही अगािड बढाउन माँग गर्नुभएको छ ।