नेपाल पत्रकार महासङ्घ सुनसरीले पत्रकारहरू जनप्रतिनिधिबाट असुरक्षित भएकाले शान्ति सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे मार्फत सङ्घीय गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई वैशाख २९ गते ज्ञापनपत्र पठाएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबाट पत्रकार र सञ्चार माध्यमलाई अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषाको प्रयोग गरी प्रेस स्वतन्त्रता विरोधी गतिविधिले पत्रकारहरू असुरक्षित भएको भन्दै गृहमन्त्री समक्ष महासङ्घको सुनसरी शाखाले शान्ति सुरक्षाको माग गरी गृह मन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्र हस्तान्तरण गर्दै महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले मेयर साम्पाङको फेसबुक पेज ‘हर्क साम्पाङ ए रिभ्युलेशन’मा गालीगलौज र धम्कीका भाषामा स्टाटसहरु राखिने र त्यसमा उनका समर्थकहरूबाट थप धम्कीपूर्ण कमेन्टहरू आउने गरेको बताउनु भयो ।
साम्पाङ मेयरमा निर्वाचित भएपछि पत्रकारहरूलाई गालीगलौज गर्न थालेको महासङ्घ पूर्व अध्यक्ष केशव घिमिरले बताउनु भयो ।
पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे, सचिव विवेक गौतम, केन्द्रीय सदस्य अमर खड्का, भीषण राई, इकबाल अहमद, महासङ्घ मोरङ जिल्ला अध्यक्ष सञ्जीव खनाल सहित अग्रज वरिष्ठ पत्रकारहरू सहित ४० भन्दा बढी पत्रकारहरू ज्ञापनपत्र बुझाउन सुनसरी जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले संविधानले दिएको प्रेस स्वतन्त्रता तथा नागरिकहरूको भय, त्रासरहित अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारी प्रशासनले निर्वाह गर्दै आएको बताउँदै सङ्घीय गृहमन्त्रीलाई लेखिएको ज्ञापनपत्र यथाशीघ्र सम्प्रेषण गरिने बताउनु भयो ।
‘पत्रकारलाई निसाना बनाएर मेयर साम्पाङले दिएको अभिव्यक्ति सम्वेदनशील भएको ठहर गरेका छौँ सङ्घीय गृहमन्त्री समक्ष प्रेषित ज्ञापनपत्रमा भनिएको छ ।
नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व बोकेको व्यक्तिबाट पत्रकारले असुरक्षित महसुस गरेपछि पत्रकारको सुरक्षा माग जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत नेपाल सरकार गृह मन्त्रालयसमक्ष यसै पत्रमार्फत अपिल गर्दछौँ ।’
पत्रकारहरु मानव अधिकार रक्षकसमेत भएकाले उनीहरुलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरणका लागि समेत सरकारको ध्यानाकर्षण गराएको पत्रकारहरुले जनाएका छ ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।
