दोस्रो चरणको स्थानीय तहको निर्वाचनको विरोधमा नेपाल बन्दको आयोजना गरेको राजपाले जेठ ३१ गते पनि निरन्तरता दिएको छ ।
इन्सेक बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार नेपालगञ्जको धम्बोझी चोकमा बिहान १० बजेदेखि १२ बजेसम्म राजपाका कार्यकर्ताले यातायातका साधन, रिक्सा, साइकल लगायतका सवारी साधनमा अवरोध गरेका थिए । दुई घण्टा कार्यकर्ता सडकमा उत्रिए पनि पछि सबै सवारी साधन सञ्चालनमा आएका थिए । शिक्षण संस्थाहरू भने निर्वाध रूपमा सञ्चालन भएका छन् ।
प्रहरीले बन्दका क्रममा अराजकता प्रदर्शन गरेको आरोपमा राजपा कार्यकर्ता ४५ वर्षीय मेराज खाँलाई गिरफ्तार गरिएको छ । त्यसैगरी जेठ ३० गते काङ्ग्रेसका मेयरको चुनाव प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको आरोपमा गिरफ्तार भएका ललित रौनियारलाई प्रहरीले सार्वजनिक मुद्दा चलाउने भएपछि ललित रौनियार आमरण अनसनमा बसेका छन् । उनलाई भेरी अञ्चल अस्पतालमा राखिएको राजपका नेता पशुपतिदयाल मिश्रले बताए ।
यसैगरी बर्दिया र दाङ जिल्लामा राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दको प्रभाव परेको छैन । जिल्लामा बजार, शैक्षिक संस्था, यातायातका साधन र कलकारखाना संचालनमा आएको सम्बन्धित जिल्लाका इन्सेक प्रतिनिधिले जनाएका छन् ।
इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताहरूले सङ्घीय समाजवादी फोरम नेपालको महोत्तरी कार्यालयको साइनवोर्डमा कालो पोत्दै गेटमै राखेको पार्टीको झण्डा उखेलेर जेठ ३१ गते आगजनी गरेका छन् ।
पुर्व घोषित कार्यक्रम अनुसार आज दोस्रो दिनको बन्दको क्रममा जलेश्वरको खैराचोक पुगेका राजपा कार्यकर्ताहरूले फोरम नेपालको पार्टीको झण्डा जलाएका हुन् ।
सङ्घीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनरेश राय यादवले राजनीतिक लडार्इँ राजनीतिक हिसावले लडे बेस हुने सुझव राजपालाई दिएका छन् । उनले पार्टीको झण्डा जलाउने र साइनवोर्डमा कालो पोत्नेलाई स्थानीय प्रशासनले प्रश्रय दिएको आरोप लगाए ।
राजपाले वैचारिक वा फिजिकल लडाईँमध्ये जुन लडाईँ लड्न चाहेपनि आफूहरू तयार रहेको र पार्टीको झण्डामा पुगेको क्षतिको हिसाव चुकाउनु पर्ने यादवले बताए ।
पार्टी कार्यालयबाट करिव २५ मिटरको दुरीमा सशस्त्र प्रहरीको चेक पोष्टमा दर्जनौको सङ्ख्यामा सुरक्षाकर्मीहरू तैनाथ रहेपनि उनीहरू मुकदर्शक बनेको अध्यक्ष यादवले बताए ।
इन्सेक नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार राष्ट्रिय जनता पाटी नेपालले आह्वान गरेको चार दिने बन्दको दोस्रो दिन जेठ ३१ गते नवलपरासी जिल्लाको सदरमुकाम परासी आसपासका ठाउँहरू महेशपुर, पाल्ही, बर्दघाट त्रिवेणी, प्रतापपुर, चिसापानी, महेशपुरलगायत भारतको सिमाना आसपासका बजार विद्यालय र यातायात बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ताहरूले सदरमुकाम परासी, कुश्मा लगायतका ठाउँमा टायर बालेर सडक अवरूद्ध गरेका थिए । साथै बन्दकर्ताहरूले बन्दको बेलामा निर्वाचन प्रचारप्रसार गरेको आरोप लगाउँदै जेठ ३० गते रामग्राम नपा-२ स्थित नेपाली काङ्ग्रेसको सम्पर्क कार्यालयमा तोडफोड गरेका छन् ।
नेपाली काङ्ग्रेस क्षेत्र नं. ५ का सांसद विक्रम खनालको सम्पर्क कार्यालयमासमेत बन्दकर्ताले जेठ ३० गते तोडफोड गरेका छन् । घटनाको विरोधमा पार्टी सभापति विष्णु लामिछानेले प्रेस विज्ञप्ति प्रकाशन गरी घटनाको भत्सर्ना गदै तोडफोड गर्नु दुखद् भएको भन्दै तोडफोड समस्याको समाधान नभएको विचार राखेका छन् ।