INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितलाई गिरफ्तार गर्न गएका प्रहरीमाथि गाउँलेको आक्रमण

फरार रहेका बलात्कार घटनाका आरोपित पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संक बुढालाई गिरफ्तार गर्न गएका प्रहरीमाथि वैशाख २५ गते गाउँलेले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र बलात्कार घटनाका पीडित परिवारका सदस्य धनमान विक घाइते भएका छन् ।

घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको  र घाइते विकको अवस्था गम्भीर रहेको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुवराज बमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार घाइते दुवैलाई हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ । घाइतेहरुको उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टर पठाइदिन पत्राचार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताउनु भयो ।

बलात्कार घटनाका आरोपी बुढा हत्कडी सहित फरार भएका छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटाइएको इन्स्पेक्टर बमको भनाइ छ ।

आरोपित बुढालाई ०७९ असोज ३१ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो । त्यस यता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि बिहान ४ बजे आरोपितलाई गिरफ्तार गर्न ढुंगेलसहित चार जना प्रहरी टोली गएको थियो । प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेको इन्स्पेक्टर बमले बताउनुभयाे ।

अन्य

भिडियो