INSEC Online

📅 २०८३ जेष्ठ २१

एक्सरे मेसिन प्रयोगमा नआउँदा सर्वसाधारणलाई समस्या

म्याग्दीको पश्चिम भेकको मालिका, धौलागिरी तथा बागलुङ जिल्लाका समेत बिरामीले सेवा लिने प्राथमिक स्वास्थ्य केन्द्र दरवाङमा बिद्युत समस्याका कारण एक्सरे मेसिन प्रयोग हुन नसक्दा बिरामीहरूले सास्ती व्यहोर्नु परेको छ ।

२०७९ पुसको दोश्रो हप्ता आइपुगेको सामग्री माघ १ गते औपाचारीक कार्यक्रम गरेर प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरीएको थियो । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा थ्री फेज विद्युत् लाइन र स्वास्थ्य केन्द्रमा विद्युत कन्ट्रोल गर्ने ५० केभीएको स्टेपलाइजर जडान नहुँदा लायन्स क्लबले दिएको मेसिन प्रयोगविहीन भएको हो ।

जिल्लाको दोश्रो ठुलो ब्यापारीक केन्द्रका रूपमा रहेको दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामी सामान्य समस्या हुँदापनि एक्सरेकालागि सदरमुकाम बेनी पुग्नु पर्ने बाध्यता भएको छ ।

लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट–३२५ आई नेपालले उपलब्ध गराएको ५ सय एमए एक्सरे मेसिन उपयोगहीन भएको लायन्स क्लब अफ दरबाङका निवर्तमान अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।

सामान्य अवस्थामा पनि दैनिक ३० देखि ४० जना सम्म बिरामीले सेवा लिने केन्द्रमा अति आवश्यक पर्ने एक्सरे मेसिन नै प्रयोगमा नआएपछि समस्या भएको उहाँले बताउनुभयो ।

‘गाउँमै एक्सरे हुन्छ भन्ने लागेको थियो तर बत्ती मिलेन भनेर चलाएकै छैनन्, यही भएको भए सबैलाई सजिलो हुने थियो सामान्य समस्यामा एक्सरे गर्न परे पनि बेनी नै पुग्नु पर्ने बाध्यता हामीले भोग्दैछौं’ दरवाङकी ८६ वर्षीया जेष्ठ नागरिक गौमती बुढामगरले गुनासो गर्नुभयो ।

नेपाल विद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रका मेसिन ४ सय ८० भोल्टको रहेको हुनाले मेसिन सञ्चालन हुनका लागि उक्त विद्युतले नहुने बिद्युत कार्यालय म्याग्दी प्राविधिक प्रमुख शिव पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो नेपाल विद्युत प्राधिकरणले सिङ्गल फेजमा २ सय ३० र डबल फेजमा ४ सय भोल्ट बत्ती दिने भए पनि त्यो मेसिन ४ सय ८० भोल्टले चल्ने भएको हुनाले समस्या भएको उहाँले बताउनुभयो । पुग्ने खालको स्टेपलाइजर ल्याएको खण्डमा उक्त मेसिन चल्ने पौडेलको भनाई छ ।

प्रथामिक स्वास्थ्य केन्द्रका डाक्टर कुशल पौडेलले भन्नुभयो, “एक्सरे मेसिन प्रयोग नहुँदा समस्या भएको छ, विद्युत् आपूर्ति गरी सञ्चालनको पहल भइरहेको भए पनि पुसको दोश्रो हप्ता आइपुगेको सामग्री अहिले सम्म पनि प्रयोगमा आउन सकेको छैन । ”

५० केभीएको स्टेपलाइजर मालिका गाउँपालिकाले व्यवस्था गरिदिने भनिएको हो । एक्सरे मेसिन प्रयोगका लागि निक साइमनबाट रेडियोग्राफर सुमन चक्रधरसमेत केन्द्रमा कार्यरत हुनुहुन्छ । रेडियोग्राफर कार्यरत भए पनि मेसिन चल्ने विद्युत व्यवस्था नहुँदा उहाँको पनि काम हुन सकेको छैन डा.पौडेलले भन्नुभयो ।

darbang shwasthy a kendraprayogbihin xray machine

अन्य

भिडियो