INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मार्कामा

बुढिनन्दा नगरपालिका अन्तर्गत रहेका १४ ओटा स्वास्थ्य संस्थामा सात महिनादेखि औषधि अभाव भएपछि सेवाग्राही मार्कामा परेका छन् ।

स्थानीय तहले समयमा औषधि खरिद नगर्दा औषधि अभाव भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

बुढिनन्दा नगरपालिका–८ का ६५ वर्षीय बुद्धि कठायतले विरामी भएर पाण्डुसेन स्वास्थ्यचौकी गएको र स्वास्थ्यकर्मीहरुले चेकजाँच गरीसकेपछि औषधि छैन भनेर रिक्तो हात पठाएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्यकर्मीले चेक गरे । तर, औषधि छैन भनेर खाली हात पठाए । नजिक मेडिकल पनि छैन् । सदरमुकाम मार्तडी र अन्य ठाउँबाट औषधि पठाउने मान्छ्े पनि छैन् । औषधि नै नपाएपछि झन विरामी बढेको छ ।’

नगरपालिकामा कार्यकारी फेरबदल हुँदा औषधि खरिद प्रक्रियामा ढिलो भएकोले स्वास्थ्य संस्थामा औषधि अभाव भएको र विरामीहरुलाई खाली हात पठाउँदा नराम्रो लागेको पाण्डुसेन स्वास्थ्य चौकीमा अनमी विमला बुढाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्य चौकीमा विरामी आउछन् । चेक गरेर औषधि बिनै पठाउने गरिएको  छ । असोज महिनादेखि केही महिना स्वास्थ्य कार्यालयबाट ल्याएर दिन्थ्यौँ । अहिले त्यो पनि सकिएपछि अभाव भएको हो ।’

झाडापखाला रुघाँखोकी, निमोनिया भएका बालबालिका र ज्येष्ठ नागरिक दैनिक २५÷३० जना उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको बाँधु स्वास्थ्यचौकीकी अनमी सर्मिला संज्यालले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पहिला विरामी आउथ्ये । आजकाल औषधि नपाउने भएपछि बिरामी समेत आउन छोडेका छन् । बिरामी नआउने भएपछि स्वास्थ्यचौकी आएर हाजिर लगाएर घर फर्कनु परेको छ ।’

बुढिनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक ओमजंग शाहीले कार्यकारी नभएर औषधि खरिद प्रक्रियामा ढिलो भएको भएपनि हाल नयाँ कार्यकारी नियुक्त भएर आउनु भएकोले तत्काल औषधि खरिद प्रक्रिया गरेर समस्या समाधान गरिने बताउनु भयो ।

उहाँका अनुसार हाल स्वास्थ्य संस्थामा सिटामोल, सिप्रो, जिंक, वारेस, फोलिकेसिट क्यालसियम, बच्चाका लागि पारासिटामोल (झोल), एन्टीभाइटिक, जिवनजललगायतका औषधिको अभाव छ ।

नेपालको संविधानको धारा १६ (१) मा “प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ“ भन्ने व्यवस्था गरिएको  र स्वास्थ्य उपचारको अधिकार माैलिक अधिकारका रुपमा व्यावस्था गरिएको भएपनि जिल्लाका नागरिकले औषधि नपाएर ज्यान नै जोखिममा राख्नु परेको छ ।

अन्य

भिडियो