बागलुङ नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ का नागरिकलाई सहज स्वास्थ्य पहुँच पुर्याउँने उद्देश्यले पैयुँपाटा स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाउन सुरू गरेको भवन अलपत्र हुदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।
स्वास्थ्यचौकीलाई १५ शैयाको नगर अस्पताल बनाउँने घोषणा गरेपछि बागलुङ नगरपालिका–१३ पैयुँपाटामा भवन निर्माणको लागि श्री महालक्ष्मी जुगल जेभीसंग ०७८ असार २३ गते १२ करोड ८७ लाख रुपियाँमा सम्झौता भएको थियो । सम्झौता अनुसार ०८० साल असार २० गतेसम्म भवन निर्माण सम्पन्न गरिसक्नु पर्ने हो । निर्माणकार्य सुरु गरेको तीन वर्ष पुग्न लाग्यो ।
प्रवेशद्वार, पार्कीङ लगायतका संरचना सहित तीन तलाको विद्युतीय भर्याङ सहितको अस्पताल निर्माण हुने सम्झौता गरिएपनि सम्झौता सकिन तीन महिना बाँकी रहँदासम्म पहिलो तला ढलान गर्न सकिएको छैन् ।
पहिलो तला ढलान गर्ने तयारी गरेको ६ महिना बित्यो । ढलानका लागि खरिद गरिएका कच्चा सामाग्रीहरु पतकरले छोपिएका छन् । अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेला हुँदा पनि ठेकेदार कम्पनीको अत्तो पत्तो छैन् ।
सरकारले प्रत्येक पालिकामा पाँच, १० र १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य अनुसार स्वास्थ्यको पहुँचबाट टाढा रहेको नगरपालिकाको दक्षिण भेगलाई लक्षित गरी नगर अस्पताल निर्माण थालिएको भएपनि अस्पताल भवन निर्माणमात्र अलपत्र परेको छैन् स्वास्थ्यकर्मीको अभावमा यस क्षेत्रका सेवाग्राहीले स्वास्थ्य उपचार समेत समयमै प्राप्त गर्न सकेका छैनन् ।
नगर अस्पतालमा एमडिजिपि तीन जना चिकित्सक आवश्यक पर्ने भएपनि अहिलेसम्म मेडिकल अधिकृत राख्न नसकिएको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनाल बताउनुहुन्छ । प्रयाप्त स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको खनाल स्विकार गर्नुहुन्छ ।
‘गाउँमा नामको नगर अस्पताल छ, सामान्य रुघा, खोकी, ज्वरो आउँदा पनि घण्टौ लगाएर सदरमुकाम जानुपर्छ,’ स्थानीय बालकृष्ण शर्मा भन्नुहुन्छ ‘स्वास्थ्यकर्मी छैनन्, बनाउन लागेको भवन, भवन निर्माणका सामग्री अलपत्र छन् सरोकारवाला मौन छ ।’
स्वास्थ्य चौकीबाट प्रदान हुनुपर्ने सेवा समेत स्वास्थ्यकर्मी अभावमा प्राप्त हुन नसकेको भन्दै नगर अस्पतालको सेवा प्राप्त हुनेमा विश्वस्त नरहेको स्थानीय खिमा खत्रीको भनाई छ ।
‘स्वास्थ्य चौकीको भवन पहिलै जिर्ण थियो, नगर अस्पतालको भवन बन्ने भएपछि मर्मत सम्भारमा पनि खास ध्यान पुगेन,’ बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण पौडेलले भन्नुभयो, ‘म्याद सकिने समय सम्म भवनको पहिलो तला ढलान हुन सकेको छैन्, वर्षा सुरु हुन लाग्यो कहाँबाट कसरी सेवा प्रदान गर्ने समस्या हुने भएको छ ।’
भवन निर्माण सम्पन्न गरेर बुझाउनु पर्ने समय सम्म पहिलो तला ढलान हुन नसक्नु दुखद् भएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्कको भनाई छ । ‘डाक्टरको पदपुर्ती गरेपनि डाक्टर बस्नुभएन, अहिले हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन थपेका छौं उहाँहरु केही समयमै जानुहुन्छ’ खड्काले भन्नुभयो “निर्माण व्यवसायीको कमजोरीका कारण नगरपालिका प्रति स्थानीय रुष्ट छन्, निर्माण व्यवसायीलाई तुरुन्तै सम्झौता अनुसार काम गर्न निर्देशन गर्नेछु ’ उहाँले भन्नुभयाे ।
