INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायका लागि पहल गरिदिन इन्सेकलाई बेपत्ता परिवारको आग्रह

साबिक हगाम गाविस-७ हाल जुगल गाउँपालिका-६ स्थायी घर भइ तातोपानी सीमा नजिक लिपिङ्ग बजारमा मजदुरी गरी बसेका २० वर्षीय कुमार तामाङलाई तातोपानी सिमा सुरक्षा स्थित सशस्त्र प्रहरीले गिरफ्तार गरी बेपत्ता बनायो ।

हालसम्म स्थिती अज्ञात रहेको भन्दै न्यायका लागि पहल गरिदिन ०८० वैशाख २१ गते इन्सेक जिल्ला प्रतिनिधिलाई टेलिफोन मार्फत बेपत्ता तामाङको पत्नी डोल्मा तामाङले अनुरोध गर्नुभएको छ ।

पीडित पत्नी डोल्माको भनाई अनुसार ०७१ चैत ११ गते बेलुका तातोपानी सीमा सुरक्षा स्थित सशस्त्र प्रहरीले गिरफ्तार गरी लगेकोमा हालसम्म पतिको स्थिती अज्ञात रहेको छ ।

तामाङलाई पत्नीसँगै कोठामा बसेको अवस्थामा खाना पकाउने ग्याँस सिलिण्डर चिनको खासातर्फ पैठारी गरेको आरोपमा सशस्त्र प्रहरीले गिरफ्तार गरी लगेका थिए । गिरफ्तार गरी लगेको तीन दिनपछि पतिलाई भेट्न जाँदा सशस्त्र प्रहरीले बेपत्ता बनाएको थाहा पाएको डोल्माले बताउनु भयो ।

पतिको खोजीको माग गर्दै पीडित पक्षले तत्कालिन अवस्थामा सडक बन्दका आन्दोलनहरू समेत गरे । तर बेपत्ताको अवस्था सार्वजजिक भएन ।

पीडित पक्षको आन्दोलनलाई मत्थर गराउन प्रशासन कार्यालय सिन्धुपाल्चोकका तत्कालिन साहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा घटना छानविन समिति बन्यो । त्यस समितीले पनि घटना उजागर गर्न सकेन ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखाका तत्कालिन डिआइजी नवराज सिल्वालको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति पनि बन्यो तर पनि बेपत्ताको अवस्था सार्वजनिक नभएको डोल्माले बताउनु भयो ।

पतिको अवस्था सार्वजनिक गरी न्याय दिलाउन भन्दै ०७१ चैत २५ गते इलाका प्रहरी कार्यालय तातोपानीमा उजुरी दिन आफू गएको तर उजुरी दर्ता गर्न प्रहरीले नमानेको डोल्माको भनाई छ ।

नागरिकका लागी सुरक्षा दिन खटिएका सुरक्षाकर्मीबाटै गैरकानुनी गिरफ्तार गरी बेपत्ता बनाउने काम हुनु र घटनाको सत्यतथ्य छानविन नहुनु देशमा न्याय मर्दै गएको आफूलाई महसुस भएको र न्यायको लागि पहल गरिदिन आफूले मानव अधिकार कर्मीलाई गुहारेको बेपत्ता कुमार तामाङकी पत्नी डोल्मा तामाङले उल्लेख गर्नुभयो ।

न्यायको लागी माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी पत्र दिन इन्सेक जिल्ला प्रतिनिधिले बेपत्ता परिवारलाई सुझाव दिएको र आफूहरूले सक्ने जती सहयोग गर्ने प्रतिबद्धता इन्सेक जिल्ला प्रतिनिधिले गरेका छन् ।

अन्य

भिडियो