INSEC Online

📅 २०८३ जेष्ठ २१

समयमै सुत्केरी आमालाई अस्पतालमा पुर्‍याउन नसक्दा शिशुको मृत्यु

सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँकी ३६ वर्षीया सत्या शाहीलाई समयमै जिल्ला अस्पताल हुम्लामा पुर्‍याउन नसक्दा शिशुको मृत्यु भएको छ । वैशाख १५ गते विहानदेखि प्रसुति व्यथाको लक्षण देखा परे पनि गाउँमा वर्थिङ सेन्टर नभएपछि शिशुको मृत्यु भएको पति कृष्ण शाहीले बताउनु भएको छ ।

प्रसव पीडाले छटपटाई रहेकी महिलालाई जिल्ला अस्पताल हुम्लामा स्टेचर मार्फत लैजाने क्रममा बिच बाटोमै मृत्यु भएको शिशु जन्माएको पति शाहीले बताउनु भएको हो ।

उहाँका अनुसार गाउँमा स्वास्थ्य संस्था भए पनि वर्थिङ सेन्टर नभएकै कारण शिशुलाइ गुमाउनु परेको पीडा सुनाउनु भएको छ । उहाँले सुत्केरी व्यथा लागेकी आफ्नी पत्नीलाई सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा लैजानका लागि सिमकोट गाउँपालिका स्वास्थ्य शाखालाई गाडिको व्यवस्था गरि दिन भन्दै अनुरोध गरे पनि गाडिको व्यवस्था ढिलाई भएकै कारण शिशुको मृत्यु भएको आरोप लगाउनु भएको छ ।

शाहीले भन्नु भयो ‘गाउँसम्मै सडकले नछोएको भए पनि दुई घण्टासम्म स्टेचरमा हालेर लिने र त्यसपछि गाडीको व्यवस्था गर्ने भनेको थियोे  । तर गाडी सन्चालन हुने स्थानमा नपुग्दै मृत शिशु जन्मिएको हो’ ।

गाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा उक्त विरामीको कुनै पनि औषधि नभएको र विरामीको अवस्था जटिल भएकै कारण सोही दिन रिफर गर्नुपरेको सामुदायिक स्वास्थ्य इकाई खोल्सीका प्रमुख धिरन शाहीले बताउनु भएको छ ।

त्यस्तै गाडीको व्यवस्था भएर पनि गाडी सुविधा भएकाे स्थानसम्म नपुग्दै शिशुको मृत्यु भन्ने खबर सुनिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक नर भण्डारीले बताउनु भएको छ ।

सिमकोट गाउँपालिका–८ का वडा अध्यक्ष कमल बुढाका अनुसार आफुले गाउँपालिकालाइ गाडीको व्यवस्था गर्ने अनुरोध गरेको हो तर शिशुको बिच बाटो मै मृत्यु भएको बताउनु भएको छ । सडक नपुगेकै कारण अकालमा ज्यान गुमाउनु परेको उहाँले बताउनु भएको छ । सुविधा सम्पन्न सडक निर्माणकालागि गाँउपालिकाले पर्याप्त बजेटको  व्यवस्था गरिनु पर्ने उहाँको भनाइ छ ।

शिशु गुमाएकी विरामीको हाल सिमकोट गाउँपालिका–७ स्थित सामुदायिक स्वास्थ्य इकाई चौगानफयामा उपचार भइरहेको सोही इकाईका प्रमुख जान बहादुर शाहीले बताउनु भएको छ ।

अन्य

भिडियो