बोदेबर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको आगो लगाई हत्या गरेको कसुरमा देवर २१ वर्षीय परमेश्वर साहलाई वैशाख १७ गते जन्मकैदको सजाय भएको छ ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको वैशाख १७ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।
आदेशमा आरोपितले पीडितका सन्तानलाई ३ लाख रुपियाँ क्षतिपूर्ति भराउनु पर्ने फैसला भएको छ । पीडितकी २ वर्षीया छोरी र ८ वर्षीय छोरा छन् ।
जाहेरवाला मृतकका पति रबिनकुमार साहले इलाका प्रहरी कार्यालयमा दिएको उजुरी भन्दा अदालतमा विपरीत बयान दिएकोले उनलाई पाँच दिन कैद र २ हजार रुपियाँ जरिवाना भएको छ । आरोपितले २०७८ माघ २१ गते बिहान पेट्रोल छर्केर आगो लगाएको भन्दै मृतकका पति साहले माघ २६ गते इलाका प्रहरी कार्यालय, कडरबोनामा उजुरी दिनुभएको थियो ।
पीडितको उपचारका क्रममा ०७८ माघ २२ गते मृत्यु भएको थियो । शवको पोष्टमार्टम ०७८ माघ २३ गते कोशी अस्पताल, विराटनगरमा भएको थियो । बोतलमा खुल्ला पेट्रोल ल्याएका परमेश्वरले खाना पकाइरहेकी पीडितको शरीरमा पेट्रोल छर्केर आगो लगाएको भन्दै मृतकका बुबा बोदे बर्साइन नगरपालिका–६ का बद्री साहले समेत इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २३ गते उजुरी दिनु भएको थियो ।
आरोपितलाई प्रहरीले ०७९ जेठ १५ गते गिरफ्तार गरेको थियो ।