INSEC Online

📅 २०८३ जेष्ठ २१

खर्च अभावमा उपचारबाट वञ्चित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १३ गते देशभरका सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई विपन्नहरूको निशुल्क उपचार अनिर्वाय गराउन परिपत्र गरेको छ ।

संविधान २०७२ ले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई व्यवस्था एवम् व्याख्या गरेको छ । सोही धाराको उपधारा २ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ भनि उल्लेख गरिएको छ ।

तर, धनकुटा नगरपालिका–२ भीरगाउँका १७ वर्षीय विवेक राई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनु भएको छ ।

Photo 2023428 Dhankuta1

विपन्न भएका कारण विवेक राई डेढ महिनायता थलिएर ओछ्यान पर्नु भएको छ । ०७९ चैत ११ गते धान कुट्ने मिलको मेसिनले अण्डकोष छुट्टिएपछि अस्वस्थ्य हुनु भएका राई उपचार खर्च अभावमा उपचार गर्न नसकी घरमै बस्न बाध्य हुनु भएको छ ।

आफन्त र मिल सञ्चालक रमेश थापाको सहयोगमा सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचार गरिएपनि रकम अभावका कारण शल्यक्रिया हुन सकेको छैन ।

पीडित राई हाल धनकुटा नगरपालिका–५ बालमन्दिरस्थित बडीआमा धनकुमारी राईको घरमा बसिरहनु भएको छ ।

प्रारम्भिक उपचारका १ लाख ५० हजार रुपियाँ खर्च गरेर फर्किएका राईको छुट्टिएको अण्डकोष जोड्न अर्को अप्रेशन गर्नु पर्ने सो अप्रेशनका लागि आर्थिक अभाव भएपछि विवेकलाई घरमै राखेको धनकुमारी राईले बताउनु भयो ।

छथर जोरपाटी गाउँपालिका–४ का ३५ वर्षीय रमेश थापाले सञ्चालन गरेको कुटानी पिसानी मिलमा सहयोगीको रूपमा काम गर्ने राई चैत ११ गते दुर्घटनामा पर्नु भएको थियो ।

घाइते राईकी आमा निशा राईको ११ वर्ष अघि नै मृत्यु भइसकेको छ भने बुबा हर्कबहादुर राई १४ वर्षदेखि परिवारको सम्पर्कमा हुनुहुन्न ।

‘छुट्टिएको अण्डकोष जोड्न कति खर्च लाग्छ डाक्टरले पनि भन्न सकेका छैनन् ।’ मिल सञ्चालक थापाले भन्नुभयो–‘उपचारमा लागेको आधा रकम मैले व्यहोर्ने भनेको छु तर कति लाग्छ थाहा छैन ।’ अहिलेसम्म २ लाख रुपियाँ खर्च भइसकेको छ ।

छथर जोरपाटी गाउँपालिका–८ का वडाध्यक्ष रसबहादुर राईले स्थानीय तहले गरिवको उपचार गर्नुपर्ने भएपनि हालसम्म गाउँपालिकाबाट त्यस किसिमको कार्यविधि नबन्दा समस्या भएको बताउनु भएको छ ।

photo 2023428 Dhankuta

अन्य

भिडियो