संविधान संशोधनको माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आह्वान गरेको बन्दका कारण तराई/मधेसका दक्षिण भेगको जनजीवन प्रभावित बनेको छ ।
स्थानीय तहको निर्वाचन अगावै संविधान संशोधन गरी आफूहरूको माग सम्बोधन गरिनु पर्ने भन्दै राजपा नेपालले निर्वाचनलाई बिथोल्ने गरी आन्दोलनका कार्यक्रम अघि सारेको थियो । घोषित कार्यक्रम अनुसार जेठ ३० गते पहिलो दिन गरेको बन्दका कारण विभिन्न जिल्लामा यातायात, विद्यालय तथा उद्योगहरू बन्द रहे ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार बन्दको पहिलो दिन जेठ ३० गते शैक्षिक संस्था, उद्योग, कलकारखाना, व्यापार र यातायात ठप्प रहे । भित्री बजार खुला रहेपनि मुख्य बजार भने बन्द रहृयो । बन्दका कारण राजविराजबाट लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेन् ।

बन्द अवज्ञा गरेको भन्दै प्रदर्शनकारीले सुरूङ्गा नपा-३ स्थित सडकखण्डमा उदयपुरतर्फबालुवा लिएर गइरहेको ना.६ख२६२५ नम्बरको ट्रकमा ढुङ्गा प्रहार गरी सामान्य क्षति पुर्याए ।
बन्दकर्ताहरूको अवरोधले पूर्वतर्फजाने ४० र पश्चिमतर्फजाने १८ वटा सवारी साधनहरू राजमार्गमा थन्किएको डिएसपी यादवराज उप्रेतीले जानकारी दिए । सप्तरीको भारदह, शम्भुनाथ र कदमाहालगायतका स्थानहरूमा रोकिएको ५८ वटा बस, ट्रक, माइक्रो बस, जीप र कारमा सवार सयौँ यात्रुहरू दिनभरी अलपत्र परे ।

बिहानैदेखि राजविराज नगर क्षेत्रमा राजपाका नेता, कार्यकर्ताहरूले ठाउँठाउँमा टायर बालेर सरकार र निर्वाचनविरूद्घ नाराबाजी गरी चुनाव अघि संविधान संशोधनको माग गरिरहे ।
सर्लाही जिल्ला प्रतिनिधि सन्तोष कुमार सिंहका अनुसार आसन्न स्थानीय तहको दोश्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन नभएको भन्दै जेठ ३० गते देखि राजपा नेपालले आहृवान गरेको बन्दको पहिलो दिन आज जिल्ला सदरमुकाम मलङ्गवा पूर्ण रूपले बन्द भएको छ ।
बन्दका कारण सदरमुकाम मलङ्गवाबाट चल्ने यतायातका साधन ठप्प भएको छ । राजपाको बन्दका कारण विद्यालयसमेत खुल्न सकेन ।
बन्दका कारण सदरमुकाम मलङ्गवासहित जिल्लाका प्रमुख व्यपारी केन्द्रहरू गौडैता, सिसौटिया, सिसौट, बरहथवा, हरिपुर, गैर सहितका बजारसमेत बन्द छन् । बन्दको पहिलो दिन जिल्लामा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय र्सलाहीले जनाएको छ ।
बारा जिल्ला प्रतिनिधि लक्ष्मी साहका अनुसार अगामी असार १४ गते तोकिएको दोस्रो चरणको स्थानीय तहको चुनावको विरोधमा आन्दोलनमा उत्रेको राजपाले जेठ ३० गते गरेको बन्द आह्वानले सर्वसाधारणको जनजीवन कष्टकर बन्यो । बजार, यातायात, शैक्षिक संस्था बन्द भएपछि सर्वसाधारणले सास्ती खेपेका छन् ।
सरकारी कार्यालय बन्द गराएकोले सेवाग्रहीले सरकारी कार्यालयबाट सेवा लिनबाट वञ्चित भए । जिल्लाको उत्तरी क्षेत्र सिमरा, पथलैया, निजगढलगायतका शैक्षिक संस्थाहरू खुल्ला रहे पनि कलैया-वीरगञ्ज र सदरमुकाम कलैयाबाट ग्रमीण क्षेत्रमा चल्ने यातायात बन्द रहे ।
पूर्वपश्चिम महेन्द्र रामार्गमा फाटफुट सवारी साधन चलेको थियो । उद्योग, कलकारखाना बन्द भएकाले मजदुरले काम गर्न पाएनन् । बन्दकर्ताहरूले ती ठाउँहरूमा पुगेर जबर्जस्ती बन्द गराएका थिए ।
धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार रविदासका अनुसार राजपा नेपालका कार्यकार्यकर्ताहरूले बन्दको अवज्ञा गरेको भन्दै जनकपुरस्थित मुजेलीयमा ना ५ ख १४४५ नम्बरको ट्रक र ना ३ ख ४२७० ट्रकको अगाडिको सिसा फुटाएका छन् ।
त्यसैगरी आन्दोलनकारीले जनकपुरको पिरारी चोकमा ज १ त ८३२५ नम्बरको ट्याक्टरमा पनि तोडफोड गरेका छन् । सोही ठाउँमा ज १ ख ६३९ नम्बरको माइक्रो बसको अगाडिको सिसा फुटाएको प्रहरीले जजनाएको छ । बन्दका कारण विद्यालय, कलकारखान, यातायातका सवारी साधनहरू सञ्चालन हुन सकेन । बन्दका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।
पर्सा जिल्ला प्रतिनिधि केसी लामिछानेका अनुसार राजपा नेपालले आह्वान गरेको बन्द जिल्लामा शान्तिपूर्ण रहेको प्रहरीले जनाएको छ । बन्दका कारण बजार, यातायात, विद्यालय बन्द रहे । बन्दकर्ताहरूले वीरगंजको घण्टाघर, मुरली, मैसथान लगायत चोकमा टायर बालेर प्रदर्शन गरेका थिए । बन्दका कारण कुनै अप्रिय घटना नभएको पर्सा प्रशासनले जनाएको छ ।
महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहका अनुसार स्थानीय तहको दोश्रो चरण निर्वाचन अगाडि संविधान संशोधन नभएको भन्दै राजपा नेपालले आह्वान गरेको चार दिने मधेस, थारूवान र लिम्बुवान बन्दको पहिलो दिन जेठ ३० गते जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण महोत्तरीको सदरमुकाम जलेश्वरसहित राजमार्ग भन्दा दक्षिणी भेगका बजार, विद्यालय, अन्य कार्यालयहरू र सवारी साधन पूर्ण रूपले बन्द रहे ।
जिल्लाका व्यपारीक केन्द्रहरू रामगोपालपुर, गौशाला, औरही, सरपल्लो, भमरपुराका बजारहरू ठप्प भयो । बन्दको प्रभाव दक्षिण क्षेत्रमा देखिए पनि राजमार्ग क्षेत्रमा बन्दको खासै असर परेन । राजमार्गमा सार्वजनिक यतायातका साधन चल्न सकनेन । नीजि सवारी साधनहरू निर्वाध रूपमा राजमार्गमा सञ्चालन भएको थियो ।
इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग गर्दै नेपाल कम्युनिष्ट पार्टीले जेठ ३० गते गरेको एकदिने राप्ती बन्दले दाङको जनजीवन प्रभावित भएको छ । जिल्लाबाट लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेनन् भने बजार, कलकारखाना, विद्यालयसमेत बन्द रहे ।
बन्द अवज्ञा गरेको भन्दै दाङको राप्ती गाउँपालिका-३ मा एउटा निजी जीपमा तोडफोड भएको छ । घोराहीबाट सुपादेउराली दर्शनकालागि हिडेको बा.८च ९५१६ नम्वरको जिपमा नेकपाका कार्यकर्ताहरूले बिहान ६ बजे ढुङ्गा प्रहार गरेका थिए ।
ढुङ्गा लागेर जिपको पछाडीको सिसा पूरै फुटेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले बताए । तोडफोड भएको जिप दर्शनार्थी चढेको भन्ने थाहा पाएपनि कसको हो भन्ने नखुलेको प्रहरीले बतायो । यसैगरी बन्दका कारण पूर्वपश्चिम राजगर्मामा रोकिएका ३ सय भन्दा बढी सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरी गन्तव्यमा पठाएको छ ।
प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जेठ ३० गते जिल्लाबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन संचालन भएनन् । बन्दका कारण बजार र शैक्षिक संस्था समेत प्रभावित भए ।
बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनमा प्रचारमा रहेको नेपाली काङ्ग्रेसको बा. १४ च १३८७ नम्बरको स्कर्पियो जिपमा बन्दको अवज्ञा गरेको आरोपमा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले जेठ ३० गते त्रिभुवन चोकमा ढुङ्गा प्रहार गरेका छन् ।

तोडफोडबाट जिपको अगाडिको सिसा फुटेको र जिपमा राखिएको पार्टीको झण्डा भाँचिएको नेपाली काङ्ग्रेसका नगर इञ्चार्ज प्रशान्त विष्टले बताए ।
नेपाली काङ्ग्रेसका तर्फबाट नेपालगञ्ज उमनपामा मेयर पदका उम्मेदवार डा. सुरेश कनोडियाको प्रचार प्रसारको क्रममा घरदैलो अभियानका लागि कार्यकर्ता लिन त्रिभुवन चोकबाट विपी चोकतर्फगइरहेको अवस्थामा एक्कासी ढुङ्गा प्रहार गरेको डा. कनोडियाले बताए ।
प्रहरीले ढुङ्गा प्रहार गरेको आरोपमा नेपालगञ्ज उपमनपा-२८ निवासी राजपाका जिल्ला नेता ४५ वर्षीय ललित रौनियारलाई गिरफ्तार गरेको छ । राजपाका जिल्ला नेता गिरिजा पाठकले बन्दको अवज्ञा गरेका कारण कार्यकर्ताले ढुङ्गा प्रहार गरेको बताए ।

घटनामा संलग्न व्यक्ति र क्षति भएको गाडी जिल्ला प्रहरी कार्यालयमा राखिएको र यस विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरबहादुर थापाले बताए ।
त्यसैगरी राजपाको बन्दको प्रभाव नेपालगञ्जको त्रिभुवन चोक र बिपी चोकमा देखिएको भए पनि अन्य स्थानमा खासै प्रभाव परेको देखिएन । बजार, शिक्षण संस्था र सवारी साधन सञ्चालनमा आएका छन् ।
इन्सेक रोल्पा जिल्ला प्रतिनिधि माधवकुमार वलीका अनुसार नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको राप्ती बन्दका कारण जेठ ३० गते रोल्पाको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण दिनभर जिल्ला भित्र तथा बाहिर चल्ने सवारी साधन, कल कारखाना, उद्योग, बजार, शिक्षण संस्था पूर्ण रूपमा ठप्प हुँदा नागरिकले सास्ती भोग्नु परेको थियो ।
निर्वाचनको स्वतन्त्र रूपमा विरोध गरिरहेका आफ्ना कार्यकर्ता तथा कलाकारहरूलाई गिरफ्तार गरी मुद्दा लगाएको तथा जेल हालेको भन्दै आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै बन्दको आह्वान गरिएको नेकपा रोल्पाका सेक्रेटरी दलबहादुर खत्रीले बताए ।
इन्सेक नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार चार दिनको बन्द आह्वान गरेको रष्ट्रिय जनता पार्टीका १४ जना कार्यकर्तालाई जबरजस्ती बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले गिरफ्तार गरी साँझ रिहा गरेको छ ।
पार्टीको माग सम्बोधन नगरी दोस्रो चरणको निर्वाचनको तयारी गरी रहेको विरोधमा जेठ ३० गतेदेखि असार २ गतेसम्म आम हतालको घोषणा गरेको राजपाका नेताहरू पूर्व संयोजक मुकुरजी गिरी, संयोजक पुरन चौधरी, प्रवक्ता राधेरमण पाण्डे, सदस्यहरू रविन्द्र यादव, जयप्रकाश सहानी, रामेश्वर केवट, ब्यासमुनि गुप्ता, रामजी सैथावर, सन्तोष कोइरी, राजेश्वर पाण्डे, सुवेम यादव, कृष्णकुमार पाठक, निरज रौनियारलाई गिरफ्तारपछि रिहा गरिएको हो ।
उक्त पार्टीका कार्यकर्ताले बा.१४च. ७०६९ नं. र बा.११च. ७३६२ नं. को स्कर्पियो र लु.५प. ३९५८ नं. को मोटरसाइकल तोडफोड गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार राजपाले दोस्रो चरणको निर्वाचन बिथोल्ने सहितको आन्दोलन कार्यक्रम अर्न्तर्गत जेठ ३० गते सिरहा बन्द गराएका छन् ।
राजपाले आह्वान गरेको बन्दका कारण पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहा सडकखण्डमा मोटरसाइकल बाहेकका अन्य सवारी साधन चलेनन् ।
राजपाका नेता तथा कार्यकर्ताहरूले बिहानैदेखि जिल्लाको विभिन्न ठाउँमा टायर बालेर नाराबाजी गरेपछि बजारका पसलहरु समेत पूर्ण रूपमा ठप्प रहे । उनीहरूले लहान, धनगढी, गोलबजार, मिर्चैया लगायतका ठाउँमा टायर बालेका थिए । राजपाले आफ्ना केन्द्रीय कार्यक्रम अनुसार जेठ ३० गतेदेखि चार दिने मधेस बन्दको आह्वान गरेको छ ।
लहानका सरकारी कार्यालय बन्द गराउँदै हिडेका आन्दोलनकारी राजपाका नेता मोहम्मद आलमलाई गिरफ्तार गरी साँझ रिहा गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले बताए ।