INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेश नामाकरणमा विरोध, २९ औँ दिनमा सद्गत

कोशी प्रदेश नामाकरणको विरोधका क्रममा ०७९ चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएका भनिएका र उपचारका क्रममा चैत १० गते मृत्यु भएका ४२ वर्षीय लाजेहाङ लिम्बू (पदम लिम्बू) को वैशाख ९ गते सद्गत गरिएको छ ।

मृत्यु भएको २९ औँ दिनका दिन पीडित परिवार र प्रदेश न.१ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले लाजेहाङको सद्गत बेलवारी नगरपालिका–४ मा गरेको छ ।

मुख्य माग बाहेक अन्य माग सम्बोधन भएकाले लाजेहाङको सद्गत गरिएको नामाकरण संघर्ष समिति सुनसरीका अध्यक्ष अमर इजमले बताउनु भयो ।

लाजेहाङको अन्त्येष्टी अघि धरान, इटहरी र विराटनगरमा शव यात्रा गरिएको थियो ।

शव यात्राका क्रममा तीन दर्जन बढी बस, सयौँ मोटरसाइकलको प्रयोग गरिएको थियो ।

तेहृथुम जिल्लाको म्याङलुङ नगरपालिका–९ जिरीखिम्ती स्थायी घर भई सुनसरीको धरानमा बस्दै आएका ४२ वर्षीय लाजेहाङ लिम्बू कोशी प्रदेश नामाकरणको विरोधमा ०७९ चैत ५ गते विराटनगरमा आयोजित विरोध कार्यक्रममा सहभागी भएको अवस्थामा प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको चैत १० गते उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा मृत्यु भएको थियो ।

सरकारले लाजेहाङलाई चैत २४ गते शहिद घोषणा गरेको छ ।

प्रदेश सरकारले चैत १३ गते दाह संस्कारका लागि ३ लाख रुपियाँ उपलब्ध गराएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय कार्यान्वयनका लागि चैत २८ गते परिपत्र गरिसकेको छ ।

शवको अन्त्येष्टी गरिए पनि पोष्टमार्टम रिपोर्ट भने आएको छैन ।

कोशी प्रदेशसभामा कायम ९३ मध्ये ८२ जना प्रदेश सभा सदस्यहरूको दुई तिहाइले फागुन १७ गते तत्कालीन प्रदेश १, को नामाकरण कोशी प्रदेश गरिएको थियो ।

प्रदेशको नामकारण कोशी प्रदेश भनि प्रदेश सरकारले फागुन १८ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।

अन्य

भिडियो