INSEC Online

📅 २०८३ जेष्ठ २१

भयरहित वातावरणमा मत हाल्न पाउनु मानव अधिकारको सम्मानः आयोगका सदस्य ठाकुर

लोकतान्त्रिक देशमा हुने निर्वाचन गतिविधिमा भयरहित वातावरणमा मत हाल्न पाउनु मानव अधिकारको विषय भएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले बताउनु भएको छ ।

निष्पक्ष वातावरणमा मत हाल्न पाउनु नागरिकको अधिकार भएकाले कोही कसैले पनि डर, धाक, धम्की दिन नहुने उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमा एकअर्का पार्टी प्रति लक्षित गरी अपशब्द प्रयोग भएको भन्दै उहाँले सञ्जालमा देखिएको मतभेद मतदानको क्रममा देखिएमा दुर्भाग्य हुने भन्दै उहाँले संयम हुन आवश्यक रहेको बताउनु भयो ।

चितवनका पत्रकारहरूसँग उपनिर्वाचनको पूर्व सन्ध्यामा छलफल गर्दै आयोगका पूर्व सदस्य तथा इन्सेकका संस्थापक अध्यक्ष शुशील प्याकुरेलले निर्वाचनलाई स्वच्छ र संयमित बनाउन सबैको भूमिका उत्तिकै हुने बताउनु भयो ।

जनमतलाई कसैले पनि अपमान गर्न नहुने भन्दै उहाँले हरेक नागरिकले स्वतन्त्र हिसाबले आफ्नो मत खसाल्ने अधिकार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

जिम्मेवार निकायहरू जवाफदेहि नहुनाले विभिन्न घटनाहरूले प्रश्रय पाएको उल्लेख गर्दै उहाँले निर्वाचनको समयमा हुने सोधपुछ वा आचारसंहिता अनुगमनका कामहरू जवाफदेहिता सहितको हुनुपर्ने उहाँको भनाइ छ ।

चितवन क्षेत्र नं. २ मा वैशाख १० गते उप चुनाव हुँदैछ । एक प्रतिनिधिसभा सांसदका लागि २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका बागमती कार्यालय प्रमुख यज्ञ अधिकारीले राजनैतिक दल, कार्यकर्ता र उम्मेदवारहरू जिम्मेवार भएको अवस्थामा जनताले भयरहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउने बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकमा नै अवरोध हुने गरी सामाजिक सञ्जालमा व्यक्त भावनाहरूले पत्रकारिता जगतमा पनि डर पैदा भएको बताउनु भयो ।

अन्य

भिडियो