तनहुँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मतदातादाई भ्रम पार्ने गरि जनमत सर्वेक्षण गरि सार्वजनिक गरेको भन्दै सेतोपाटी अनलाइन विरूद्ध निर्वाचन आयोगमा उजुरी दिनु भएको छ ।
भट्टराईले वैशाख ८ गते उक्त अनलाइन विरूद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत निर्वाचन आयोगमा उजुरी दिनु भएको हो ।
सो अनलाइनले तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको जित निश्चित भएको भन्दै समाचार सार्वजनिक गरेको थियो ।
मतदातालाई प्रभावमा पार्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा माहोल बनाउन समाचार प्रकाशित गरेको हुँदा उक्त अनलाइनलाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी दिएको भट्टराईले बताउनु भयो ।
‘मत सर्वेक्षण भनी समाचार प्रकाशन गरिएको हुँदा निर्वाचन आचार संहिता ऐन २०७९ को दफा ३ (ण), ४ को (ज) (ट) (७) (ड) (त) दफा २५ बमोजिम कसुर गरेको हुँदा ऐनको दफा ४५ बमोजिम उजुरी दिएको र सो उपर दफा ४६ र दफा ४९ बमोजिम कारबाही गरी पाऊँ ।’ भट्टराईको उजुरीमा उल्लेख छ ।
सो अनलाइनले हालै ‘तनहुँ १ मा राम्रो मतान्तर सहित स्वर्णिम वाग्लेले जित्ने सम्भावना’ शिर्षकमा जनमत सर्वेक्षण भन्दै समाचार प्रकाशन गरेको थियो ।
मुख्य निर्वाचन अधिकृत कोमलनाथ आचार्यले सेतोपाटी अनलाइन विरूद्ध उजुरी परेको भन्दै यसबारेमा निर्वाचन आयोगलाई जानकारी गराइएको बताउनु भयो ।