नहुँ क्षेत्र नम्बर– १ मा वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारको क्रममा राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचार संहिताको व्यापक उल्लङ्घन गरेका छन् ।
राजनीतिक दलहरूले चुनावी आमसभा, कोण सभा तथा घर दैलो अभियानको क्रममा निर्वाचन आचार संहितामा उल्लेख भए विपरितको क्रियाकलाप गरेको अनुगमनको क्रममा पाइएको छ ।
आचार संहिताको उल्लङ्घन गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरू रहेका छन् । ति दलहरूले निर्वाचन आचार संहिता विपरित घर दैलो अभियान तथा चुनावी सभाहरू आयोजना गरेका छन् भने सभा तथा जुलुसमा बालबालिकाको प्रयोग पनि गरेका छन् ।
नेपाली कांग्रेसले निर्वाचन आचार संहिता विपरित सडकका पोलमा पार्टीको झण्डा टाँस्न नपाइने व्यवस्थालाई उल्लङ्घन गरेको छ । साथै जुलुस, आमसभा, कोणसभा वा घर दैलो कार्यक्रममा १० ओटा सम्म झण्डा वा चुनाव चिन्ह मात्र प्रयोग गर्न पाइने व्यवस्थाको उल्लङ्घन गर्दै आमसभा स्थलमा सयौंको संख्यामा झण्डा र चुनाव चिन्ह प्रद्रर्शन गरेको छ ।
त्यसैगरि घर दैलो कार्यक्रममा २५ जना भन्दा बढिको संख्यामा जुलुस लिएर जान नहुने व्यवस्थाको र दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजानिक प्रर्दशन गर्न नहुने व्यवस्थाको पनि नेपाली कांग्रेसले उल्लङ्घन गरेको छ ।

निर्वाचनको प्रचार प्रसारको क्रममा बढिमा दुई ओटा सवारी साधन प्रयोग गर्न पाइने व्यवस्था भएकोमा नेपाली कांग्रेसले सो व्यवस्थाको उल्लङ्घन गर्दै उम्मेदवारको साथमा १० भन्दा बढि सवारी साधन प्रयोग गरेको छ ।
नेकपा एमालेले पनि निर्वाचन आचार संहिताको उल्लङ्घन गरेको छ । एमालेले पनि चुनावी कोण सभा र घर दैलोमा १० ओटा भन्दा बढि झण्डा र चुनाव चिन्हको प्रयोग गरेको छ, भने वैशाख ५ गते दमौलीमा आयोजना गरेको घर दैलो कार्यक्रममा सयौंको संख्यामा सहभागी र मोटरसाईकल र्याली प्रर्दशन गरेको थियो ।
त्यस्तै एमालेले वैशाख ४ गते देवघाटमा आयोजना गरेको चुनावी सभामा बालबालिकालाई चुनावी गितमा नचाएको थियो । त्यसैगरि निर्वाचनको प्रचार प्रसारको क्रममा बढिमा दुई ओटा सवारी साधन प्रयोग गर्न पाइने व्यवस्था भएकोमा नेकपा एमालेले पनि उक्त व्यवस्थाको उल्लङ्घन गर्दै उम्मेदवारको साथमा १० भन्दा बढि सवारी साधन प्रयोग गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचन आचार संहिताको उल्लङ्घन गरेको छ । पार्टीले वैशाख ३ गते दमौलीमा आयोजना गरेको चुनावी सभामा सयौंको संख्यामा झण्डा र चुनाव चिन्ह प्रद्रर्शन गरेको थियो भने झण्डा र चुनाव चिन्हको तोरण बनाई सार्वजानिक प्रर्दशन गरेको थियो ।

निर्वाचन आचार संहिता पालना गरि चुनाव प्रचार गर्न कार्यकर्ताहरूलाई आग्रह गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष हरिराज कंडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विकास खनालले बताउनु भएको छ ।
उहाँहरू तिनै जनाले चुनाव भनिसकेपछि चुनाव चिन्ह र झण्डाको प्रचार गर्नु स्वभाविक भएको र निश्चित स्थानमा गरिने प्रचारले निर्वाचन आचार संहिताको उल्लङ्घन नहुने बताउनु भयो ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले भने अहिलेसम्म निर्वाचन आचार संहिताको उल्लङ्घन सम्बन्धि कुनै पनि उजुरी नपरेको बताउनु भयो । मौखिक रूपमा केही गुनासो आएपनि कसैलेपनि अहिलेसम्म लिखित उजुरी नगरेको उहाँले बताउनु भयो ।
ढकालले निर्वाचन आचार संहिताको पालना गर्न दल र उम्मेदवारहरूलाई पटक पटक सचेत गराइएको बताउनु भयो ।