कोशी प्रदेशमा तीन महिनाको अवधिमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५७ जना पीडित भएको इन्सेकले जनाएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले वैशाख ६ गते सार्वजनिक गरेको स्थितीसूचकमा कोशी प्रदेशमा ०७९ पुस १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा राज्य पक्षबाट २१ जना र अन्य पक्षबाट २ सय ३६ जना गरी २ सय ५७ जना नागरिक पीडित भएका छन् ।
इन्सेक अभिलेखमा आधारमा सार्वजनिक गरिएको तथ्याङ्कका अनुसार कोशी प्रदेशमा राज्यपक्षबाट भएको गिरफ्तारीका घटनामा पाँच जना, कुटपिटका घटनामा एक जना, अमानवीय व्यवहारका घटनामा एक जना र घाइतेमा १४ जना नागरिक पीडित भएका छन् ।
अन्य पक्षबाट भएका अपहरण घटनामा एक जना, कुटपिटका घटनामा दश जना, बाल अधिकारका घटनामा ६५ जना, अमानवीय व्यवहार घटनामा एक जना, घाइते पाँच जना, हत्याका घटनामा नौ जना, महिला अधिकारका घटनामा १ सय ४३ जना र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनामा एक जना नागरिक पीडित भएका छन् ।
तीन महिनाको अवधिमा कोशी प्रदेशमा मानिसको सबै भन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकारबाट १० जना नागरिक विमुख भएका छन् । राज्यपक्षबाट एक जना र अन्य पक्षबाट भएका घटनामा नौ जना नागरिकको ज्यान गएको छ ।
कोशी प्रदेश नामाकरणसँगै ०७९ फागुन १७ गतेदेखि पहिचानका आधारमा प्रदेशको नामाकरणको विषयलाई लिएर भएको आन्दोलनमा एक जना नागरिकले ज्यान गुमाउनु परेको छ । चैत ५ गते विराटनगरमा प्रदेश सरकारविरूद्ध पहिचानका लागि आन्दोलन गरिरहेको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता ४२ वर्षीय लाजेहाङ लिम्बू पदमको ज्यान गएको छ ।
आन्दोलनका क्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको उपचारका क्रममा चैत १० गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा ज्यान गयो । लिम्बूलाई शहिद घोषणा गर्न माग गर्दै आन्दोलनरत पक्षले पोष्टमार्टम नगर्ने अडान लिँदै प्रदेश नामाकरणको विषयमा निरन्तर आन्दोलन गरिरहेको छ ।
नामाकरणको विषयमा लिएर ०७९ फागुन १७ गतेयता कोशी प्रदेश अशान्त हुँदा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सङ्कुचित भएको इन्सेकले जनाएको छ ।
चैत १४ गते कोशी प्रदेशका मुख्यमन्त्रीसहित प्रदेशसभा सदस्यहरू सहभागी हुने एक कार्यक्रमलाई लक्षित गरी आन्दोलनरत पक्षले कार्यक्रमस्थल विग होटल परिसरमा नारावाजी र हुलदुङ्गा गर्दा प्रहरीसँग भएको झडपमा १४ जना नागरिक घाइते भएको इन्सेक अभिलेखमा उल्लेख छ ।
लाजेहाङको परिवारलाई प्रदेश सरकारको चैत १३ गतेको मन्त्रीपरिषद् बैठकले ३ लाख रुपियाँ दाहसंस्कार खर्च उपलब्ध गराउने र सङ्घीय सरकारले चैत २४ गते मृतक लाजेहाङलाई शहिद घोषणा गरेको छ । गृहमन्त्रालयले चैत २८ गते पीडित परिवारलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई परिपत्र गरेको छ ।
कोशी प्रदेशका १४ ओटा जिल्लामा तीन महिनाको अवधिमा बालअधिकारका घटनामा ६५ जना बालबालिका पीडित भएको इन्सेकले उल्लेख गरेको छ ।
जसमा अपहरण घटनामा दुई जना, बेचविखनका घटनामा तीन जना, र एक जना बालक, विद्यालयमा दिइने यातनाका घटनामा दुई बालिका र एक जना बालक, बलात्कार घटनामा ४१ जना र यौन दुर्व्यवहार घटनामा १५ जना बालिका पीडित भएको इन्सेकको तथ्याङ्कमा छ ।
महिला अधिकारका घटनामा १ सय ४३ जना पीडित भएको इन्सेकले जनाएको छ । जसमा वेचविखन प्रयास घटनामा एक जना, घरेलु हिंसाका घटनामा १ सय ३ जना, वहुविवाह घटनामा १२ जना, बलात्कारका घटनामा २२ जना, बलात्कार प्रयासका घटनामा चार जना र यौन दुर्व्यवहार घटनामा एक जना गरी १ सय ४३ जना महिला पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
कोशी प्रदेशमा राजनीतिक अधिकार अन्तर्गत भएका विरोध कार्यक्रमका राज्यका तर्फबाट भएको धरपकड, महिला र बालबालिकामाथिका श्रृखलाबद्ध यौनजन्य घटनाले कोशी प्रदेशमा मानव अधिकार सुधार भन्दा कमजोर हुँदै गएको भन्न सकिने अवस्था सिर्जना भएको इन्सेकले जनाएको छ ।
तीन महिनाको तथ्याङ्कलाई हेर्दा महिला र बालबालिकाविरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि राज्यले पक्ष राष्ट्रका रूपमा गरेका अन्तर्राष्टिय सन्धी सम्झौताको कार्यान्वयनको सवालमा प्रश्न खडा हुने अवस्था देखिएको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताउनु भएको छ ।
इन्सेकले अभिलेखीकरण गरेका तथ्याङ्कहरूलाई दृष्टिगत गरी मानव अधिकार संरक्षण र सम्वद्र्धनका निम्ति राज्यले ठोस, प्रभावकारी र हस्तक्षेपकारी नीति तथा कार्यक्रमहरू अवलम्वन गर्न आवश्यक रहेको थापाको भनाइ छ ।
इन्सेकले प्रदेशको मानव अधिकार अवस्थाको स्थितिका बारेमा जानकारी गराउने उद्देश्यले त्रैमासिक रूपमा स्थितिसूचक प्रकाशन गर्दै आएको छ ।