शुभकालिका गाउँपालिका–५ का ४१ वर्षीया खगिसरा कार्कीको नागरिकता नहुँदा सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएकाे छ ।
खगिसाका पति कलम कार्कीको मृत्यु भएको नौ महिना पुग्दा पनि उहाँको नागरिकता नभएका कारण बञ्चित हुनु भएकाे हाे ।
सानै उमेरमा हराएर पछि बुबा आमा पत्ता नलाग्दा नागरिकता नभएको पीडित कार्कीले इन्सेक प्रतिनिधिसँग गुनासो गर्नु भयो । ०६१ सालमा कलम कार्कीसँग विहे भएको थियो । पतिको ०७९ भदौ महिनामा क्यान्सर लागेर मृत्यु भएपछि तीन छोरी,दुई छोरा पाल्न मुस्कील भइरहेको उहाँले बताउनु भयो ।
माइती पक्षको कुनै ठाँउ, ठेगाना, पहिचान नखुलकोले नागरिकताको लागि सिफारिस दिन नसकिएको शुभकालिका गाउँपालिका–५ का वडाध्यक्ष मिमबहादुर शाहीले प्रतिक्रिया दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले आफन्त पत्ता नलागेर नगरिकताबाट वञ्चित भएको विषयमा कानुनी व्यवस्थाको बारेमा बुझ्ने र स्थानीय तह,मन्त्रालय र अन्य सरोकारवालासँग छलफल गरेर समस्या समाधानको बाटो खोज्ने बताउनुभयो ।
