नेपाली कांग्रेसले जिल्लास्थित सरकारी भवनबाट चुनाव प्रचार गरेको छ । व्यास नगरपालिका–३ मा रहेको जिल्ला समन्वय समितिको स्वामित्वको जिल्ला अतिथि गृहमा युवाहरूको भेला राखेर कांग्रेसले चुनाव प्रचार गरेको हो ।
तनहुँको चुनावी कमाण्डरको रूपमा खटिनुभएका केन्द्रिय सदस्य तथा तनहुँ क्षेत्र नम्बर– २ का सांसद शङ्कर भण्डारीले एक सातादेखि सोही सरकारी भवनमा बसेर चुनावी कमाण्ड सम्हाल्नु भएको छ ।
वैशाख ३ गते भण्डारीको पहलमा सरकारी भवनमा कांग्रेसका तरुणदल तथा विद्यार्थीहरूको भेला आयोजना गरिएको थियो ।
निर्वाचन आचारसंहिताले सरकारी तथा सार्वजनिक भवनमा दलको झण्डा तथा चुनाव चिन्ह प्रदर्शन गर्न नपाइने उल्लेख गरेको छ, तर कांग्रेसका कार्यकर्ताहरूले सरकारी गेष्ट हाउसको प्राङ्गणमा पार्टीको झण्डा तथा चुनाव चिन्ह प्रर्दशन गरेर सामूहिक तस्वीर लिएर सामाजिक सञ्जालमा राखिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उक्त अतिथि गृहमा सांसदलाई आवासको सुविधा दिएको तर चुनाव प्रचार गरेको विषयमा भने आफूलाई कुनै जानकारी नभएको बताउनु भयो । उहाँले सरकारी तथा सार्वजानिक भवनबाट चुनाव प्रचार गर्न नहुने बताउनु भयो ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले दलहरूलाई आचार संहिताको पालना गर्न पटक पटक अनुरोध गरिएको बताउनु भयो । तर यसबारेमा कुनै पनि उजुरी नआएको ढकालले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी छविराज रिजालले भने आफुलाई सरकारी भवन प्रयोग गरेको बारेमा केही जानकारी नभएको बताउनु भयो ।
नेपाल विद्यार्थी संघका जिल्ला सदस्य गौरब पन्थले उक्त भवनमा चुनावको प्रचार गरेको नभई युवाहरुको सामूहिक भेट भएको बताउनु भयो ।
