गोदावरी नगरपालिका अन्तर्गत पर्ने मालाखेती अस्पतालमा सुत्केरी व्यथा लागेर चैत २६ गते उपचारका लागि आउनु भएकी गोदावरी नगरपालिका–२ की २८ वर्षीया लक्ष्मी भट्टराईको डाक्टर र अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै पीडित पक्षले आन्दोलन गरेपछि घटनाको छानविन गर्न चैत २९ गते पाँच सदस्यीय समिति गठन गरिएको छ ।
डाक्टरको लापरवाहीका कारण सुत्केरी र बच्चाको मृत्यु हुन गएको भन्दै पीडित पक्ष तथा परिवारले तीन दीनसम्म आन्दोलन गरेपछि छानविन समिति गठन गरिएको हो ।
सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिशचन्द्र विष्टको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी, डाक्टर ओमप्रकाश जोशी, स्ताफ नर्स प्रमुख सृष्टी जोशी र पीडित पक्षबाट विष्णु पाठक सदस्य रहेको पाँच सदस्यीय छनविन समिति गठन गरिएको छ ।
घटना भएको तीन दिनसम्म पनि सुत्केरी र बच्चाको शव पीडित पक्षले उठाउन नमानेपछि पीडित पक्षसँग छलफल गर्न र घटनाको सत्यतथ्य छानविन गर्न नगरपालिकाको पत्राचारको आधारमा पाँच सदस्यीय छनविन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताउनु भयो ।
छानविन समितिले दुबै पक्षबीच छलफल गर्दा मृतकको छोरालाई आवासीय उच्च शिक्षासम्म पढाउने र परिवारलाई ५ लाख रुपियाँ दिने सहमती अनुसार चैत २९ गते शवको सेती प्रदेशिक अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाउने कार्य भएको गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले बताउनु भयो ।
पीडित पक्षलाई उचित न्याय हुने छानविन समितिको प्रतिवद्धता अनुसार चैत २९ गते शव बुझेर गोदावरी घाटमा चैत ३० गते सदगत गरिएको मृतका आफन्त विष्णु पाठकले बताउनु भयो ।
सुत्केरी व्यथा लागेर उपचारका लागि चैत २६ गते अस्पतालमा ल्याइएकी महिलाको अस्पताल र डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै दोषीलाई कार्वाही र पीडितलाई उचित क्षतिपुर्तिको माग राख्दै पीडित पक्षले तीन दिनसम्म आन्दोलन गरेका थिए ।