चैत १५ गते देखि जिल्ला अस्पातलको स्टोरमा औषधि अभाव भएपछि त्यहाँ उपचार गर्न आउने सर्बसाधारण बिरामीहरू मर्कामा परेका हुन ।
लामो समयदेखि बिरामी भएर शरीर कमजोर भएको महसुस भएपछि जिल्ला अस्पतालमा उपचार गर्न आउदा आफुलाई आवश्यक पर्ने निशुल्क पाउने औषधि डिएनएस डाक्टरले लेखिदिएको भएपनि फार्मेसीमा उक्त औषधि सकिएको भन्दै अस्पातल नजिकको मेडिकलबाट किनेर ल्याउनु परेको छायाँनाथ रारा नगरपालिका—३ का ६१ वर्षिया जुनकला बिकले बताउनु भयो ।
दुई दिनसम्म बेलाबेलामा आफ्नो तीन वर्षिया छोरीले बान्ता गर्न थालेपछि उपचार गर्न जिल्ला अस्पातल पुग्नु भएकी मुगुम कार्मारोङगाँउपालिका—१ की छेजुम टोमा तामङ्गले छोरीलाई चाहिने अण्डेम नामक औषधी नपाएपछि मेडिकलबाट किनेर सेवन गर्ने सल्लाह डाक्टरले दिएको बताउनु भयो ।
१५ शैयाको जिल्ला अस्पतालमा चैत १५ गते देखि इन्जेक्सन यसीलक, इन्जेक्सन अण्डेम इन्जेकसन क्याटोलक्स,इन्जेक्सन टोमडोल, इन्जेक्सन प्यान्टोप र इन्जेक्सन डिएनएसको अभाव भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्टोर फाँटमा कार्यरत किशोर भामले बताउनु भयो ।
जिल्ला अस्पतालको लागि आवश्यक औषधि खरिद गर्न यो आर्थिक वर्षका लागि १० लाख रुपियाँ बजेट आएको भएपनि औषधि खरिद गरेर यो रकम मङ्सिर महिनामा खर्च भइसकेको छ ।
अरु औषधि प्रदेश आपुर्ति शाखा र क्षेत्रीय मेडिकल स्टोरबाट आपुर्ति हुने भएपनि केही औषधि अभाव हुनु सक्ने स्वास्थ्य सेवा कार्यालयका लेखा प्रमुख राम बहादुर केसीले बताउनु भयो ।
वर्षिक १० लाख रुपियाँको औषधि खरिदले पुग्दैन छाँयानाथ रारा नगरपालिकालाई औषधि खरिदका लागि आवश्यक रकम विनियोजित गर्न अस्पताल व्यवस्थापन समितिबाट रकम मागका लागि निर्णय सहित अनुरोध गरिएको भएपनि हालसम्म माग भएको रकम उपलब्ध नहुँदा समय समयमा औषधीको अभाव हुने गरेको लेखा प्रमुख केसीले बताउनु हुन्छ ।
जिल्ला अस्पातलमा सबै भन्दा बढी ग्यास्टिक बिरामी हरेक दिनमा १५ देखि २० जना आउने गर्छन् । यो रोगका बिरामीहरुकालागि चाहिने एसिलक औषधि अभाव छ ।
शरीर कमजोर वा शरीरमा पानी कम भएका बिरामीहरुकालागि आवश्यक पर्ने डिएनएस सलाईनपानी समेत अभाव हुँदा बिरामीहरुलाई मेडिकलबाट औषधि किनेर ल्याउनु परेको डाक्टर अर्जुन भामले बताउनु भयो ।