१७ वर्षीया बालिकालाई गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा रूपनी गाउँपालिका–२ का ३८ वर्षीय गजेन्द्रप्रसाद साहलाई चैत २७ गते साढे दुई वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासबाट आरोपितलाई गर्भपतन गराएको कसुरमा २ वर्ष तथा कसुरको प्रमाण दबाएको र सूचना दिनेलाई अवरोध गरेकोमा ६ महिना गरी साढे दुई वर्ष कैद सजाय भएको अदालतले जनाएको छ ।
यसैगरी कसुर ठहर भएका आरोपितलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने, १३ हजार रुपियाँ जरिवाना तिराउने र फौजदारी कसुर पीडित राहत कोषमा ४ सय रुपियाँ जम्मा गराउने फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।
आरोपित गजेन्द्र यस अघि ०७८ साउन ३ गते जिल्ला अदालतको आदेशमा ४ लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।
पीडितलाई आरोपितका भाई २५ वर्षीय वीरेन्द्रप्रसाद साहले विभिन्न प्रलोभन तथा डरत्रास देखाई बलात्कार गरेर गर्भवती बनाएका थिए । गजेन्द्र, उनका भाई वीरेन्द र वीरेन्द्रका ससुरा भारत बिहार राज्य सुपौल जिल्ला सोनापुर ग्रामपोष्टका हेमनारायण साह (हलुवाई)ले भारतको दरभङ्गा लगेर आठ महिनाको गर्भपतन गराएको भन्दै पीडितका हजुरबुबाले जिल्ला प्रहरी कार्यालयमा ०७७ फागुन १३ गते उजुरी दिनुभएको थियो ।
नेपालका चिकित्सकहरूले आठ महिनाको गर्भपतन गर्ने जोखिम नलिए पछि आरोपितहरूले भारत गई गर्भपतन गराएका थिए । आरोपितहरू विरुद्ध ०७७ फागुन १७ गते जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७७ फागुन १३ गते गरिएको थियो ।
आरोपित गजेन्द्र रूपनी गाउँपालिका–२ स्थित बीएस (बलदेव साह) मेमोरियल बोर्डिङ स्कुलका प्रधानाध्यापक र उनकाभाई वीरेन्द्र सहायक प्रधानाध्यापकका रूपमा कार्यरत थिए । वीरेन्द्रले विद्यालय शुल्क मिन्हा गरिदिने प्रलोभन र परीक्षामा अनुत्तिर्ण गर्ने धम्की दिई कक्षा कोठामा पटकपटक र पछिल्लो पटक ०७६ चैत २७ गते बलात्कार गरी गर्भवती बनाएको आरोप छ । सप्तरी जिल्ला अदालतमा ०७७ चैत १५ गते अभियोगपत्र दायर भएको थियो । आरोपितहरू वीरेन्द्र र उनका ससुरा हेमनारायण फरार रहेका छन् ।