१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदार हाजिर हुनासाथ चैत २६ गते राजविराज कारागारमा थुनिएका छन् ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासबाट आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका हुन् । आरोपितको वयानका आधारमा घटनामा सलंग्न रुपनी गाउँपालिका–३ का १९ वर्षीय धर्मेन्द्र चौधरी हाल सम्म फरार रहेका छन् ।
उक्त घटनामा रुपनी गाउँपालिका–३ सखुवाका २० वर्षीय सुरेश भनिने सुरैतलाल राम ०७९ जेठ २५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । सोही दिन अन्य तीन जना बालकलाई अदालतले बालसुधार गृह वीरगञ्ज पठाएको थियो ।
आरोपितहरूले सामूहिक बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा ०७९ जेठ २ गते उजुरी दिनुभएको थियो । शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मेला घुम्न गएका बेला आरोपितहरूले शम्भुनाथ मन्दिरदेखि सय मिटर पूर्व–दक्षिणतर्फ पानी टंकी छेउमा बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ३ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो । प्रहरीले सुरेश र तीन बालकलाई ०७९ जेठ २ गते नै गिरफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यालयले जेठ ३ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा जेठ २३ गते अभियोगपत्र दायर भएको थियो ।