INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेश नामाकरणमा विरोध, सरकारद्वारा लाजेहाङलाई शहिद घोषणा

कोशी प्रदेश नामाकरणको विरोधका क्रममा चैत ५ गते प्रहरीको कुटपिटबाट घाइते भएका भनिएका र उपचारका क्रममा चैत १० गते मृत्यु भएका ४२ वर्षीय लाजेहाङ लिम्बू (पदम लिम्बू) लाई सरकारले चैत २४ गते शहिद घोषणा गर्ने निर्णय गरेको छ ।

मन्त्री परिषद्को ०७९ चैत २४ गतेको निर्णय अनुसार लाजेहाङलाई शहिद घोषणा गर्ने निर्णय गरिएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङ्गले इन्सेककर्मीसँगको फोन सम्पर्कमा बताउनु भयो ।

मन्त्री परिषद्को निर्णय अनुसार शहिद घोषणाको निर्णय भएपनि क्षतिपूर्ति वा राहतका विषयमा लिखित जानकारी आउन बाँकी रहेको सूचना अधिकारी तामाङ्गको भनाइ छ ।

तेहृथुम जिल्लाको म्याङलुङ नगरपालिका–९ जिरीखिम्ती स्थायी घर भई सुनसरीको धरान उपमहानगरपालिका-१५ बागझरामा बस्दै आएका ४२ वर्षीय लाजेहाङ लिम्बू कोशी प्रदेश नामाकरणको विरोधमा ०७९ चैत ५ गते विराटनगरमा आयोजित विरोध कार्यक्रममा सहभागी भएको अवस्थामा प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको चैत १० गते उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा मृत्यु भएको संघर्ष समितिले चैत १० गते विज्ञप्ति जारी गरी जनाएको थियो ।

सरकारले लाजेहाङलाई शहिद घोषणा गरेको र केन्द्रीय समितिको निर्णय अनुसार चैत २४ गते शवको पोष्टमार्टम गरिने तयारी गरिएको प्रदेश न. १ पुन नामाङ्कन सङ्घर्ष समिति धरानका सदस्य अमर इजमले इन्सेककर्मीसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाको शव गृहमा राखिएको छ ।

लाजेहाङको परिवारलाई कोशी प्रदेश सरकारले ३ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय यस अघि गरिसकेको छ ।

०७९ चैत १३ गते बसेको कोशी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले मृत्तकका परिवारलाई ३ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले बताउनु भयो । पीडित लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– सङ्घीय लिम्बूवान कमाण्डर हुन् ।

घटनाका विषयमा छानविनका लागि सङ्घीय सरकारले चैत ११ गते गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको छ ।

समितिमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, नेपाल प्रहरीका एसपी नविनराज राई, सशस्त्र प्रहरीका एसपी रमेश उप्रेती, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक शेरजङ्गबहादुर चन्द र उपसचिव रामकृष्ण शाही हुनुहुन्छ ।

चैत १४ गतेदेखि छानविन थालेको समितिले चैत २० गते नेपाल सरकारलाई छानविन प्रतिवेदन बुझाएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो ।

छानविन समितिले घटनाका विषयमा पीडित परिवार, सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल, घटनास्थलको अवलोकन गरी प्रतिवेदन तयार पारिएको पोखरेलको भनाइ छ ।

घटनाका विषयमा इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापासहितको अधिकारकर्मीको टोलीले चैत १६ गते पीडित परिवारसँग भेट गरी घटनाका विषयमा जानकारी लिएको थियो ।

कोशी प्रदेशसभामा कायम ९३ मध्ये ८२ जना प्रदेशसभा सदस्यहरूको दुई तिहाइले फागुन १७ गते तत्कालीन प्रदेश १, को नामाकरण कोशी प्रदेश गरिएको छ ।

प्रदेशको नामकारण कोशी प्रदेश भनि प्रदेश सरकारले फागुन १८ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेको छ ।

अन्य

भिडियो