१७ वर्षीया बालिकालाई बलात्कार गरेको तथा गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा रूपनी गाउँपालिका–२ का २५ वर्षीय वीरेन्द्रप्रसाद साह र वीरेन्द्रका ससुरा भारत बिहार राज्य सुपौल जिल्ला सोनापुर ग्रामपोष्टका हेमनारायण साह (हलुवाई) विरुद्धको मुद्दा चैत २३ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले हालसम्म फरार रहेका आरोपितहरूविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको अदालतले जनाएको छ । बीरेन्द्रका ३८ वर्षीय दाजु गजेन्द्रप्रसाद साहको हकमा कसुर ठहर भई सजाय निर्धारणका लागि पेश गर्ने आदेश भएको छ ।
पीडितलाई आरोपित वीरेन्द्रले विभिन्न प्रलोभन तथा डरत्रास देखाई बलात्कार गरेर गर्भवती बनाएको र अन्य आरोपितहरूले आठ महिनाको गर्भपतन गराएको भन्दै पीडितका हजुरबुबाले जिल्ला प्रहरी कार्यालयमा ०७७ फागुन १३ गते उजुरी दिनुभएको थियो । आरोपितहरू विरुद्ध २०७७ फागुन १७ गते जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७७ फागुन १३ गते गरिएको थियो ।
आरोपित वीरेन्द्र रूपनी गाउँपालिका–२ स्थित बीएस (बलदेव साह) मेमोरियल बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक र दाजु गजेन्द्र प्रधानाध्यापकका रूपमा कार्यरत थिए । वीरेन्द्रले विद्यालय शुल्क मिन्हा गरिदिने प्रलोभन र परीक्षामा अनुत्तिर्ण गर्ने धम्की दिई कक्षा कोठामा पटकपटक र पछिल्लो पटक २०७६ चैत २७ गते बलात्कार गरी गर्भवती बनाएको र भारतको दरभङ्गा लगेर आरोपितहरूले आठ महिनाको गर्भपतन गराएको पीडितले बताउनु भयो । अदालतमा २०७७ चैत १५ गते अभियोगपत्र दायर भएको थियो ।