INSEC Online

📅 २०८३ जेष्ठ २१

गर्भपतन घटनाको कसुरमा कैद सजाय

तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीकी २२ वर्षीया रञ्जुदेवी मण्डलको गर्भपतन गराएको कसुरमा सोही ठाउँका ३९ वर्षीय शिवशंकर मण्डल र उनका भाई ३७ वर्षीय श्रीराम भनिने शिवेन्द्र मण्डललाई चैत २२ गते २५/२५ दिनको कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले आरोपित दाजुभाईलाई कसुर ठहर गर्दै जनही २५ दिनको कैद सजाय गरेको हो । अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार आरोपितहरूबाट पीडितलाई ६० हजार रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।

आरोपितहरूले २०७९ जेठ ९ गते कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । बाख्रा चराउन गएका पीडितका पति अनिलले आरोपितहरूले पालेको कुकुरलाई कुटेको भन्दै घरमा आई लछारपछार गर्दै कुटपिट गर्दा पीडितको सात हप्ताको गर्भपतन भएको थियो ।

पेटमा चोट लागेर रक्तस्राव हुन थालेपछि ०७९ जेठ १० गते जाँच गराउँदा चिकित्सकले गर्भपतन भएको पुष्टि गरेका थिए । प्रहरीले आरोपित शिवशंकरलाई जेठ १९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा असार १२ गते अभियोजन पत्र दायर भएकोमा जिल्ला न्यायाधीश इश्वरमणि ओझाको असार १३ गतेको इजलाशले आरोपित ३० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए । अदालतमा हाजिर भएका अर्का आरोपित शिवेन्द्र जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलाशबाट असार २२ गते ३० हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

अन्य

भिडियो