गल्छी गाउँपालिका-२ बस्ने २१ वर्षीया महिलालाई मानव बेचबिखन गरेको कसुरमा सोही ठाउँकी ४५ वर्षीया बालकुमारी परियारलाई धादिङ जिल्ला अदालतका न्यायाधीश स्वीकृति पराजुलीको इजलासले ०७९ चैत ६ गते कसुर निर्धारण गरेकोमा चैत २० गते दुई वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
परियारले आफूलाई भारतमा लगेर विक्रि गरेको पीडित महिलाले जानकारी दिनुभयो ।
भारतमा महिलाहरू बेचिएको विषयमा पीडित परिवारको तर्फबाट जानकारी पाएपछि माइती नेपालको सहयोगमा भारतीय प्रहरी समेतले उद्धार गरि पीडितलाई परिवारको जिम्मा लगाएको थियो ।
नेपालबाट हराएर भारतमा पुगेकी पीडित नेपाल फर्केपछि पीडित परिवारले महिला बेचबिखन भएको भन्दै जिल्ला प्रहरी कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँमा ०७९ असार २० गते उजुरी दिएका थिए ।
प्रहरीले परियारलाई सोही दिन गिरफ्तार गरेका थिए ।
पीडित परिवारले परियारविरुद्ध ०७९ साउन १३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा सोही दिन पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।