INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेदविरुद्ध प्रहरी वृत्त बालाजुमा उजुरी

पोखरा महानगरपालिका–२ घर भई हाल टोखा नगरपालिका–९ सृजनशील टोल बस्दै आएका ३७ वर्षीय आयुष परियारले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरी वृत्त बालाजुमा ०७९ चैत २० गते जातीय विभेदको उजुरी दर्ता गराउनु भएको छ ।

परियारले काठमाडौँ महानगरपालिका–१६ शुभकामना टोलका नवराज अमगाईले आफ्नो छोराको व्रतबन्धको भोजका बेला भोज खाने लाईनबाट अलग्गै राखेको र घरभित्रको शौचालय प्रयोग गर्न नदिएको भन्दै प्रहरी वृत्त बालाजुमा चैत २० गते जातीय विभेदको उजुरी दर्ता गराउनु भएको हो ।

परियारका अनुसार काठमाडौँ महानगरपालिका–१६ का ४० वर्षीय नवराज अमगाईले छोराको व्रतबन्धमा पन्चेबाजा मगाएपछि उहाँ र उहाँको टोली चैत ९ गते अमगाईको घरमा बाजा बजाउन जानुभएको थियो । बाजा बजाइरहेको बेला तिर्खा लागेपछि आफू नजिकै पानीको जार राखेको ठाउँमा पुगेको तर जारबाट पानी निकाल्न नपाउँदै नवारजका भाई नाता पर्ने ३६ वर्षीय कपिल अमगाईले रोकेका थिए ।

भोज सुरु भएपछि पनि कपिलले गाउँबाट पण्डित आएका छन् भन्दै आयुषलाई छुट्टै बस्न भनेका थिए । पछि शौचालय जान खोज्दा पनि नवराज अमगाईले घरभित्रको शौचालय जान नदिएपछि जातीय विभेद भएको महसुस गरेर प्रहरीलाई बोलाएपनि उनीहरूले घटना सामान्य भएको र मिलाउन खोजेको परियारले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।

घटनाबारे आफ्नो टोलीले चैत १० गते नै कपिल र नवराजविरूद्ध महानगरीय प्रहरी वृत्त बालाजुमा जातीय छुवाछुतविरुद्धको उजुरी दिएपनि प्रहरी वृत्तले १० दिनसम्म उजुरी दर्ता गर्न आनाकानी गरेको परियारले उल्लेख गर्नुभयो ।

घटनाबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसरबाट प्रहरी वृत्त बालाजुमा पत्र पठाएपछि चैत २० गते उजुरी दर्ता भएको उहाँले बताउनु भयो ।

घटनाबारे बोल्दै प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले पीडितको माग अनुसार कपिलविरुद्ध जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अनुसार उजुरी दर्ता गरिएको र गोर्खा घर भएका कपिललाई गिरफ्तार गर्न जिल्ला प्रहरी कार्यालय गोरखामा भनिएको बताउनु भयो ।

Photo_079-12-22_Kathmandu

अन्य

भिडियो