INSEC Online

📅 २०८३ जेष्ठ २१

भरूवा बन्दुक पड्कँदा एक बालिकाको मृत्यु, तीन जना बालबालिका घाइते

भरूवा बन्दुक पड्कँदा कालिमाटी गाउँपालिका–७ की नौ वर्षीया पूजा घर्तीको चैत २० गते घटनास्थलमा मृत्यु भएको छ । उक्त घटनामा छर्रा लागेर तीन जना बालबालिका घाइते भएका छन ।

घाइते हुनेमा सोही ठाउँका पाँच वर्षीया यमुना आले, तीन वर्षीया देवी घर्ती र आठ वर्षीय तेजेन्द्र आले रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दामोदर केसीले जानकारी दिनुभएको छ । साँझ करिब ६ बजे स्थानीय बेलबहादुर आलेको घरको आँगनमा खेल्दै गरेका उनीहरूलाई भरूवा बन्दुक पड्केर छर्राहरू लागेका थिए ।

घाइते मध्ये यमुनाको अवस्था गम्भीर छ । उनको  उपचारका लागि कोहलपुर पठाइएकोमा त्यहाँबाट पनि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको छ । अर्का घाइते देवीलाई कोहलपुरमा उपचारपछि डिस्चार्ज गरिएको र तेजेन्द्रको अवस्था सामान्य देखिएपछि स्थानीय मेडिकलमा उपचार गरिएको डिएसपी केसीले बताउनुभयो ।

बेलबहादुर आलेलाई इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरी टोलीले भरूवा बन्दुकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ ।

अन्य

भिडियो