INSEC Online

📅 २०८३ जेष्ठ २१

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा अनुगमन

जग्गा विवादका कारण मूल बाटो बन्द रहेको डाक्नेश्वरी नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालय कटैया फत्तेपुरबारे चैत २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनुगमन गरेको छ ।

IMG_20230404_164606
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानको नेतृत्वमा इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल र सहजकर्ता विश्वेन्द्र पासवानले अनुगमन, निरीक्षण गर्नुभएको हो ।
अनुगमनका क्रममा डाक्नेश्वरी नगरपालिका प्रमुख रामलखन मलाहले अदालतबाट निषेधाज्ञा रिट खारेज गर्ने फैसला भएपछि विद्यालयको बन्द बाटो खोलिने भएको जानकारी दिनुभयो । केही दिनमै फैसलाको पूर्ण पाठ आएपछि पूर्ववत बाटो सुचारु हुने नगरपालिका प्रमुख मलाहले बताउनु भयो ।
डाक्नेश्वरी नगरपालिकाले घेराबेरा हटाउन सूचना जारी गरेपछि डाक्नेश्वरी नगरपालिका–६ का देवनारायण यादवले आफ्नो निजी जग्गा भन्दै डाक्नेश्वरी नगरपालिकाको कार्यालयसहित नौ जनाविरुद्ध माघ ९ गते उच्च अदालत जनकपुर राजविराज इजलाशसमक्ष निषेधाज्ञा रिट दायर गर्नुभएको थियो । जसमा न्यायाधीशद्वय नातिबाबु लामिछाने र जगतबहादुर थापाको फागुन २९ गतेको संयुक्त इजलाशले रिट खारेज गर्ने फैसला गरेको रजिष्ट्रार रामप्रसाद भट्टराईले बताउनु भयो ।
चार दशकदेखि काठमाडौं महानगरपालिका–३१ मा परिवासहित बस्दै आउनु भएका देवनारायण यादवको निर्देशनमा उनका भतिजा कमलेश यादवले पुस १४ गते आवतजावतको मुख्य बाटो घेरेर नरिवलको रुख रोपेका छन् । त्यसपछि यादवकै आँपको बगैचा हुँदै शिक्षक, विद्यार्थी विद्यालय आउने जाने गरेकोमा उनले सो बगैचा पनि घेरबेर गरेका छन् ।
विद्यालयलाई २०५३ सालमा माध्यमिक तहको बनाउने बेलामा देवनारायणसहित ११ जनाले सहमतिमा विद्यालयका लागि बाटो दिएदेखि सो बाटो सुचारु रहेको जग्गादाता शिक्षक साहले बताउनु भयो । सार्वजनिक बाटोको रुपमा प्रचलनमा रहेको जग्गा अवरोध गर्न खोजी निषेधाज्ञा रिट खारेज भएको जनाउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश यादवले कानूनी रुपमा सत्यको जित भएको बताउनु भयो ।
हाल सञ्चालनमा रहेको विद्यालय पछाडिको बाटोमा कलभर्ट निर्माणका लागि सात लाख रुपियाँ समेत विनियोजन गरिएको नगरप्रमुख मलाहले जानकारी दिनुभयो ।
विद्यालयको साविकको मूल बाटो यथाशिघ्र सञ्चालनमा ल्याउन इन्सेकद्वारा गठित मानव अधिकार समूह र बाल अधिकार समूहले पुस २७ गते शिक्षा विकास तथा समन्वय इकाइ, राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश, इन्सेक मधेस प्रदेश कार्यालय र डाक्नेश्वरी नगरपालिकाको शिक्षा शाखासमक्ष माग गरेको थियो । विद्यालय प्रशासनले अबरुद्ध बाटो सञ्चालनको माग गर्दै नगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।
यस्तै नगर प्रमुख मलाह, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक र कर्मचारीको संयुक्त टोलीले माघ ३ गते बाटो सुचारु गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय प्रमुखसँग डेलिगेशन गई माँग गरेको थियो । यस्तै अदालतमा बहस र प्रतिउत्तरका लागि इन्सेक प्रतिनिधिले आवश्यक प्रमाणहरू उपलब्ध गराउनु भएको थियो ।

अन्य

भिडियो