दलितहरुको विरोधपछि डोल्पाको त्रिपुरासुन्दरी भगवती मन्दिरमा प्रवेश खुला गरिएको छ । चैते दशैको रामनवमीमा मन्दिरका पुजारीहरुले मन्दिर प्रवेशमा विभेद गरेको भन्दै दलित समुदायले विरोध गरेपछि खुला गरिएको हो ।
मन्दिरमा भएको विभेदको समाचार राष्ट्रिय संचारमाध्यममा आएपछि मन्दिर व्यवस्थापन समिति, मन्दिर अक्षय कोष समिति र सरोकारवाला सहित दलितहरुको उपस्थिति रहेको बैठकले मन्दिरमा विभेद नगरिने र सबैको लागि समान हिसावले प्रवेशमा व्यवस्था मिलाइने निर्णय गरिएको मन्दिरका रोलवाला पुजारी यज्ञप्रसाद उपाध्यायले बताउनु भयो ।
२०७५ सालमा दलित अभियान्ताहरुको प्रयासमा मन्दिरमा दलितले प्रवेश गरेपनि गैह्रदलितहरुको लागि मन्दिरमा टिका लगाइने स्थान र प्रवेश स्थान अलगै गरिएको र दलितहरुलाई मन्दिर बाहिरबाटै आफैले टिका लगाउने गरी टिका थाली राखिदै आएको थियो ।
मन्दिरका पुजारी तथा अक्षय कोष समितिका सदस्य टंकप्रसाद उपाध्यायले मन्दिरमा प्रवेश खुला गरिएको तर मन्दिर आसपासका छिमेकी दलितहरु स्वंयम मन्दिर प्रवेश गर्न हिचकिचाई रहेको बताउनु भयो । उहाँले भन्नु भयो हामीहरुले मन्दिरमा कोही कसैलाई विभेद नगरिएको तर जातीय विभेदको नाममा काम गर्ने केहि गैह्रसरकारी संस्थाका प्रतिनिधिहरुले अफवाहा फैलाउन भ्रामक समाचार सम्प्रेषण गराउने तथा दलितलाई उक्साउने कार्य गरिरहेका छन ।
दलित अभियान्ता तथा संचारकर्मी पुर्णकुमार सार्कीले आफुले स्वयंम विभेद गरेको थाहापाएको र आफैले भित्र पस्न नपाएकोले समाचार सम्प्रेषण समेत गरेको बताउनु भयो । मन्दिर सार्वजनिक स्थल भएकाले जातीयताको नाममा कोही कसैले विभेद गर्नु नहुने उहाँले बताउनु भयो ।
चैत २० गते विहान बसेको सरोकारवालाको बैठकले मन्दिर प्रवेशमा विभेद नगरिने निर्णय गरेकोमा स्वागत योग्य रहेको तर व्यवहारमा लागु गरिनु आवश्यक रहेको अर्का दलित अभियान्ता बमबहादुर सार्कीले बताउनु भयो ।