बीरगंज महानगरपालिकामा रहेको मधेस प्रदेशको एक मात्र बालसुधारगृह अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानले अनुगमन गर्नुभएको छ ।
बाल सुधार गृहको क्षमता ५० जनाको हो । तर अहिले बाल सुधार गृहमा १ सय ३६ जना बस्दछन । बाल सुधार गृहमा बस्ने बालकले कारागार नियमावलीले तोकेको ७ सय ग्राम चामल र दैनीक ६० रुपैया पाउदै आएका छन् । बालसुधार गृहमा एक जना स्टाफ नर्स कार्यरत रहेको कार्यालयका निमित्त प्रमुख कृष्ण साह गोढले जानकारी दिए । उनीहरुको स्वास्थ्य हेरचाह स्टाफ नर्सबाट हुदै आएको छ । ठुलो खाले बिरामी हुदा नारायणी अस्पतालबाट सेवा लिदै आएको गोढले बताए ।
बालसुधार गृहमा एउटा कोठामा २० जना सम्म बालक राख्नु पर्ने अवस्था रहेको उनले बताए । कुखुराको खोर जस्तो छ निमित्त प्रमुख गोढले भने “गृह बिस्तारकोलागि मंत्रालयमा पत्राचार भएको त छ तर काम केही हुन सकेको छैन ” । बालबालिका सम्बन्धित मुद्दामा १ सय २० दिनमा फैसला हुनु पर्नेमा बीरगज बाल सुधार गृहमा रहेका बालकहरुको हकमा भने बक पत्र र पेशी समेत नभएको पाइएको छ । बालगृहमा सबैभन्दा धेरै जबरजस्ती करणी, लागू औषध र चोरीको आरोप लागेकाहरु छन् । एक कठ्ठा १८ धुरमा रहेको गृह संघीयता अघि सम्म नेपाल सरकारले बालगृहका रुपमा संचालन गरेको थियो । बालगृहमा पाँच ओटा शौचालय छन् । भवन थप्न मिल्ने गरि संरचना निर्माण भएको छैन । पुरानो संरना भत्काए मात्र नयाँ निर्माण हुन सक्छ । गर्मीको समयमा एउटै कोठामा बस्नु पर्दा श्वास प्रश्वासमा समस्या देखिने छाला सम्बन्धि रोग देखा पर्ने गरेको निमित्त प्रमुख गोढले बताए ।
गृहले मधेस प्रदेशका आठ ओटै जिल्लाका अदालतलाई पत्राचार गरेर बाल सुधार गृहमा बालक नपठाउन आग्रह नै गरेको छ । अदालतले फैसला ढिलो गर्दा पनि बालकहरु झन समस्यामा परेका छन् । अनुगमनका क्रममा इन्सेक मधेस प्रदेशका संयोजक पासवानले बाल सुधार गृहको भूर्वाधार निर्माण सहित अन्य बिषयमा पनि प्रदेश सरकारको ध्यानाकर्षण गराउने बताए ।