डाक्नेश्वरी नगरपालिका–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवलाई बलात्कार गरी हत्या गरेको कसुरमा सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादवलाई चैत ८ गते जीवित रहेसम्म जन्मकैदको सजाय भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले कसुर ठहर भएका यादवलाई जीवित रहेसम्म जन्मकैदको सजायका साथै ६ लाख रुपियाँ जरिवाना र १ लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको इजलाश अधिकृत कुमार सुबेदीले बताउनु भयो ।
आरोपितले ०७८ असार ४ गते बिहान बलात्कार गरी हत्या गरेको भन्दै पीडितका बुबाले असार ६ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिनुभएको थियो । डाक्नेश्वरी नगरपालिका–३ हटेल पुवरिया टोलस्थित शिवनाथ यादवको फूलबारीमा पीडितको हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा असार ४ गते शव फेला परेको थियो । शवको पोष्टमार्टम असार ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको थियो ।
पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन र घाँस काटन गएकी शिवानीले सिमसिम पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर आफू फूलबारीमा हावाले झारेको आँप टिप्न लागेको अवस्थामा आरोपितले आँप टिपिदिने लोभ देखाई बलात्कार गरेको र घरपरिवारमा भनिदिने डरले बालिकाको घाँटी रेटेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरीले असार ६ गते आरोपितलाई गिरफ्तार गरी उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा ०७८ असार ३० गते उजुरी दायर भएकोमा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले आरोपित साउन ३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।