INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बेचबिखन र ओसारपसारको मुद्दा मुल्तबीमा

१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्री गर्ने उद्देश्यले भारत लगेको आरोपमा शम्भुनाथ नगरपालिका–५ ट्राफिक चोकका १८ वर्षीय ओमप्रकाश चौधरीविरुद्धको मुद्दा चैत ७ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले फेला नपरेका आरोपितका हकमा मुद्दा मुल्तबीमा राख्ने फैसला भएको हो ।
बालिकाहरूलाई ०७७ कात्तिक १० गते आरोपितसहित हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकले बिक्री गर्ने उद्देश्यले भारत लगेको भन्दै पीडितहरूका बुबाहरूले ०७७ कात्तिक १६ गते संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आरोपितहरूले कात्तिक १० गते राति पीडितहरूलाई राजविराज नगरपालिका–७ बाट शम्भुनाथ नगरपालिका–५ ट्राफिक चोकस्थित आरोपित चौधरीको सानीआमाको घरमा ल्याएर राखेको र कात्तिक ११ गते बिहानै मोटरसाइकलमा चढाई भारतको बिहार मधुवनी जिल्ला, लौकही प्रखण्ड, ग्राम पञ्चायत करियौत लगेको पीडितहरूले बताउनु भयो ।
करियौतका स्थानीयवासीले शंका लागी सोधपुछ गर्दा आरोपितहरू फरार भएपछि उनीहरूले पीडितहरूको परिवारका सदस्यहरूलाई सम्पर्क गरी ०७७ कात्तिक १६ गते जिम्मा लगाएका थिए । पीडितहरूको उद्धार भई घर फर्किए पछि उनीहरूको बुबाले संयुक्त रूपमा दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले ०७७ कात्तिक १६ गते दर्ता गरेको थियो ।
बेचबिखन गर्न भारत लगेको आरोपमा प्रहरीले आरोपित १६ वर्षीय बालकलाई ०७७ कात्तिक १४ गते गिरफ्तार गरेकोमा मङ्सिर ८ गतेको आदेशले आरोपित बालक बालसुधार गृह बिरगञ्जमा छन् ।

अन्य

भिडियो