१० वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई फागुन ३० गते जन्मकैद सजायको फैसला भएको छ ।
जिल्ला न्यायधीश हर्कबहादुर क्षेत्रीको इजलासले साहलाई बलात्कार गरेको कसूर ठहर गर्दै जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।
बलिकाका बुबाआमा ज्याला मजदुरीका लागि घर बाहिर गएको मौका छोपी अभियुक्तले २०७८ फागुन २२ गते दिउँसो ललाइफकाई शरीर बन्धक बनाई घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन ०७८ फागुन २२ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा ०७८ फागुन २२ गते भएको थियो । प्रहरीले आरोपितलाई ०७८ फागुन २२ गते नै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतमा ०७८ चैत १७ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायधीश प्रमेश पोखरेलको आदेशमा आरोपित ०७८ चैत २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।