INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा गरेको आरोपमा पति गिरफ्तार

राजविराज नगरपालिका–३ की २५ वर्षीया आरती दासमाथि घरेलु हिंसा गरेको आरोपमा उहाँका पति २८ वर्षीय नविनकुमार दासलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई ०७९ माघ २३ गते उनका पतिसहित ससुरा ६२ वर्षीय घन्सी भनिने घनश्याम दास, निजकी पत्नी ५८ वर्षीया राजकुमारी देवी दास, निजका छोरीहरू ३८ वर्षीया आशादेवी दास र २६ वर्षीया नितु दासले विवाह पश्चात दाइजो माँग गरी कुटपिट समेत गरेको भन्दै फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७९ फागुन ४ गते विवाह सम्बन्धी कसूरमा उजुरी दर्ता गरेको छ ।

पीडित र नविनको सामाजिक परम्पराअनुसार ०७७ मङ्सिर २१ गते विवाह भएको थियो । जग्गा किन्नका लागि आरोपितहरूले मागेको थप ५० लाख रुपियाँ नदिएपछि शारीरिक, मानसिक र आर्थिक यातना दिएको पीडितले बताउनु भयो । पीडितका अनुसार आरोपित पतिले सम्बन्ध विच्छेद गरी दोस्रो विवाह गर्ने धम्की दिएका छन् ।

सप्तरी जिल्ला अदालतमा पीडितले ०७९ जेठ २७ गते घरेलु हिंसाको उजुरी दर्ता गरेकोेमा जिल्ला अदालतले जेठ ३० गते आरोपितहरूका नाममा अन्तरिम संरक्षणात्मक आदेश जारी गरेपछि पीडित घर प्रवेश गरेकी थिइन् । पतिले अन्तरिम संरक्षणात्मक आदेश बदर गर्न दिएको निवेदन खारेज भएपछि आरोपितहरूले कुटपिट गरेको पीडितले बताउनु भयो ।

अन्य

भिडियो