१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको उजुरी चार दिन पछि जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । घटनामा संलग्न आरोपित उपमहानगरपालका—१० जुगेडाका १५ र १७ वर्षीय बालकलाई प्रहरीले फागुन २२ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई फागुन १७ गते विवाह समारोहमा गएको समयमा आरोपितहरुले सामुहिक बलात्कार गरेको भन्दै गाउँमा हल्ला भएपछि फागुन २२ गते मात्रै घटनाका बारेमा आफूहरुले थाँहा भएको पीडित बालिकाका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
घटना बारे जानकारी पाए लगत्तै फागुन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा फागुन २४ गतेसम्म सार्वजनिक विदा भएको कारण फागुन २५ गते मात्र उजुरी दर्ता भएको पीडित बालिकाका बुवाले गुनासो गर्नु भयो ।
पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको र फागुन २६ गते म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेम खडकाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २५ गते सेती प्रादेहिक अस्पताल, धनगढीमा गरिएको पीडित बालिकाका बुवाले बताउनु भयो ।