INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या

षडानन्द नगरपालिका–४ दिङ्गलास्थित इलाका प्रकाशन कार्यालयमा दुई महिनायता शाखा अधिकृत नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका स्थानीय सरकारी सेवाबाट वञ्चित हुनु परेको छ ।

इलाका प्रशासनमा दुई महिनायता शाखा अधिकृत नहुँदा स्थानीय नागरिकले नागरिकता पाउन सकेका छैनन् भने दुई महिनायता कर्मचारीले तलब पाएका छैनन् । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका स्थानीयलाई सरकारी सेवा लिन दुई दिनको पैदल यात्रा गरी जिल्ला सदरमुकाम आउनु पर्ने बाध्यता छ ।

०७९ माघ पहिलो साता इलाका प्रशासन कार्यालयका शाखाका प्रमुख विकेन पौडेल सरूवा भएर गएसँगै कार्यालयको कामकाज ठप्प छ । इलाका प्रशासनको काम ठप्प भएपछि सो कार्यालयबाट प्रवाह हुने सरकारी सेवाबाट सेवाग्राही वञ्चित भएका छन् ।

नेपालको संविधान भाग–२ धारा–१० को उपधारा १ मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ । तर जिल्लाको साल्पासिलिछो र षडानन्द नगरपालिकाका नागरिकलाई इलाका प्रमुख नहुँदा नागरिकता पाउनबाट वञ्चित हुनु पर्ने अवस्था छ । षडानन्द र साल्पासिलिछो गाउँपालिकाका स्थानीयले नागरिकताको प्रमाणपत्र बनाउनका लागि दश देखि १५ रुपियाँ खर्च गर्नु परेको छ ।

जिल्ला सदरमुकाम पुग्न सहज रूपमा यातायातका साधन नपाउने भएकाले नागरिकता बनाउन जानु पर्दा निकै पैसा खर्च हुने साल्पासिलिछो गाउँपालिका–६ दोभानेका विवेक राईले बताउनु भयो । उहाँले भन्नुभयो ‘धनी सम्पन्न परिवारका मानिस त गाडी रिर्जभ गरेर सदमुकाम जान्छन् हामी जस्तो गरिव परिवारलाई भने नागरिकता लिन जान पनि ऋण नै खोज्नु पर्छ ।’

‘भोजपुर सदरमुकामसम्म पुग्न गाडी पाईदैँन हिँडेर जाँदा जान मात्र दुई दिन लाग्छ,  खाना, बास  र गाडीको भाँडा जोड्दा दशदेखि १५ हजार रुपियाँ खर्च हुन्छ । हामी जस्तो मानिसको लागि सदरमुकाम जान भनेको निकै कठिन कुरा हो ।’ राईले भन्नुभयो ।

ऋण गएर इलाका प्रशासन कार्यालय पुगेपनि कर्मचारी नभएका कारण काम नभएर फर्कनु पर्दा अझ बढी खर्च हुने गरेको साल्पासिलिछो गाउँपालिका–५ दोभानेका दिलिप राईले भनाइ छ । जसोतसो गरेर इलाका प्रशासन कार्यालय पुग्दा काम नभएपछि सरकारी कार्यालय हुनु र नहुनुको कुनै औचित्य नभएको राईको भनाइ छ ।

इलाका प्रशासनमा प्रमुख नहुँदा दुई महिनायता तलब नपाएको कार्यालयका लेखापाल राजेश दाहालले बताउनु भयो । उहाँले भन्नुभयो ‘कार्यालयमा आठ जनाको दरवन्दी छ, अहिले चार जनाले कार्यालय धान्नु परेको छ । अधिकृत नहुँदा दुई महिनायता तलब समेत पाएको छैन् ।’ लेखापाल दाहालले ‘तलव नपाउँदा खान बस्न समेत समस्या भएको गुनासो गर्नु भएको छ ।

इलाका प्रमुख नहुँदा नगरपालिकाका नागरिकलाई सास्ती भएको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले बताउनु भयो । उहाँले समस्या समाधानका लागि सम्वन्धित निकायसँग कुरा गरीरहेको बताउनु भयो ।

इलाका प्रशासनमा प्रमुख नहुँदा सेवा प्रवाहमा समस्या भएको र सेवाग्राहीले सास्ती पाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी घिमिरेले भन्नु भयो ‘जिल्लामा नै कर्मचारीको अभाव छ’ । ‘पहाडी क्षेत्रको दुर्गम भेगमा कर्मचारी आउन मान्दैनन् मैले मन्त्रालयसँग कर्मचारीको समस्याको बारेमा कुरा राखेको छु, तर पनि तत्काल पदपूर्ति हुने आशा छैन । वर्षातको समयमा यस क्षेत्रका नागरिकलाई झनै समस्या हुने गरेको प्रजिअ घिमिरेको भनाइ छ ।

जनताको घरदैलोमा सेवा दिने उद्देश्यले देश सङ्घीयतामा गए पनि जिल्लाका दुर्गम क्षेत्रका नागरिक अझै पनि सरकारी सेवाबाट वञ्चित हुनु परेको अवस्था छ ।

अन्य

भिडियो