जाजरकोटको जुनीचाँदे गाउँपालिकामा झाडापखालाका कारण एकजनाको ०७९ फागुन २१ गते मृत्यु भएको छ ।
जुनीचाँदे गाउँपालिका–७ जुनीका ५१ वर्षीय जयराज रोका मगरको समयमा उपचार सेवा नपाउँदा मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताउनु भयो ।
गत फागुन १८ गतेदेखि झाडापखाला लागेका रोकालाई उपचारका लागि ०७९ फागुन २० गते स्वास्थ्य संस्थामा ल्याएको भएपनि स्वास्थ्य संस्थामा झाडापखाला रोकथाम गर्ने जीवनजल, एमजीट लगायतका औषधी नभएकाले उपचार नपाउँदा मृत्यु भएको शाहीले बताउनु भयो ।
मृतकका छोरा १४ बर्षका अनमोल रोकामगर पनि झाडापखालाले सिकिस्त विरामी भएका छन् । उनको स्वास्थ्य अवस्था जटिल भएपछि ०७९ फागुन २१ गते स्वास्थ्य शाखा मजकोट र प्रहरी चौकी मजकोटको टोली उक्त स्थानमा पुगि प्राथमिक उपचार गरेको शाहीले बताउनु भयो ।
प्राथमिक उपचारबाट समेत स्वास्थ्यमा सुधार नआएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले जानकारी दिनु भयो । सुर्खेतमा उपचार भएपछि अहिले अनमोलको स्वास्थ्यमा केहि सुधार भएको समेत प्रमुख जिल्ला अधिकारी न्योपानेले बताउनु भयो ।
मौसम परिवर्तन सँगै खानपानमा ध्यान नदिँदा झाडापखालाको समस्या देखिने गरेको जाजरकोट अस्पतालका डाक्टर औसरसिंह राठौरले बताए । फुड प्वाइजनिङ्गका कारण पनि झाडापखाला भएको हुन सक्ने भएकोले सवैलाई सचेत रहन डा.राठौरको सुझाव छ ।
गाउँपालिका स्थित स्वास्थ्य संस्थामा विगत ६ महिना देखि औषधि अभाव रहेको छ । गाउँपालिकाले मंसिरमा २१ लाख ५० हजारको औषधि खरिद गर्दा समेत पालिका स्थित स्वास्थ्य संस्थामा औषधी नदिएको स्वास्थ्यकर्मीको गुनासो छ ।
अहिले स्वास्थ्य संस्थामा उपचारका लागी आउने अधिकांश विरामीहरु झाडापखालाका विमारी रहेको समेत स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर शाहीले बताउनु भयो । उहाँले भन्नु भयो दिनमा कम्तीमा पनि ३५ देखी ४५ जना विरामी उपचारसेवा लिन स्वास्थ्य संस्थामा आउने र त्यसमध्ये २५ देखी ३० जना सम्म झाडापखालाका विमारी हुने गरेका छन् ।