१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखाको पालुङ्टार नगरपालिका– ६ का ४० वर्षीय नरमान तामाङलाई प्रहरीले फागुन २१ गते गिरफ्तार गरेको छ ।
कक्षा ६ मा अध्ययनरत बालिकाको बहिनी बिरामी भएपछि घरमा पुर्याएर विद्यालय फर्कने क्रममा बा.१४ च. ४३३३ नम्बरको गाडिमा सवार तामाङले बालिकाको पिछा गर्दै बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै स्थानीले प्रहरीलाई खबर गरेका थिए ।
स्थानियले गरेको खबरका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले फागुन २१ गते आरोपितलाई गिरफ्तार गरेको हो । पीडित पक्षले आरोपित विरूद्ध फागुन २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा लिखित उजुरी दिएका छन् ।
तामाङले उक्त आरोपको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी श्रवणकुमार बि.क. ले बताउनु भयो । आरोपितलाई हाल प्रहरी हिरासतमा राखिएको छ ।