सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजा दिन सम्बन्धित निकायलाई निर्देशन दिएको लामो समय बितिसक्दा पनि तामाकोसी गाउँपालिका भित्रका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले दिवा खाजाको रकम पाएका छैनन् ।
गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दैनिक १५ रुपैयाँका दरले खाजा बापतको रकम केन्द्रबाट पठाएको रकम आठ महिना बितिसक्दा पनि हालसम्म पाउन सकेका छैनन् ।
बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीले दिवा खाजा बापतको रकम नपाएको कालापानी माविका प्रधानाध्यापक सुकदेब पोखरेलले बताउनु भयो । गएका वर्षमा चौमासिक रूपमा खाजा बापतको रकम आउने गरेकोमा यो वर्ष अहिलेसम्म नआएको सोही विद्यालयको अभिभावक राजकुमार माझीले बताउनु भयो ।
आफ्नो दुई जना बच्चाको खाजाबापत आउने रकमबाट छोराछोरीलाई विद्यालयमा खाजा पठाउने गरेकोमा यो वर्ष समयमा रकम नआउँदा समस्या भएको माझीले भन्नुभयो ।
तामाकोसी गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत करिब १५ सयभन्दा बढी विद्यार्थीहरूको लागी खाजा बापतको रकम आए पनि हालसम्म वितरण गरिएको छैन ।
उक्त खाजा कार्यक्रमले विद्यार्थीहरू नियमित रुपमा विद्यालय आउन मद्दत गर्ने विश्वास रहेको प्रधानाध्यापक पोखरेलले बताउनु भयो ।
बालबालिकाको वृद्धि र विकासका लागि खाना अनिवार्य तत्त्व हो । पोषणयुक्त खाना खाए मात्र स्वस्थ्य जीवन सुरु हुन्छ ।
विद्यालयमा आएका बालबालिकालाई पोषणयुक्त खाजा व्यवस्था गर्न प्रारम्भिक बालविकासदेखि कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि नेपाल सरकारले बजेटको व्यवस्था लामो समयदेखि गर्दै आएको छ ।
यता तामाकोसी गाउँपालिकाको शिक्षा शाखा प्रमुख मेनुका बास्कोटाले प्रमुख प्रशासकीय अधिकृत नभएका कारण खाजा बापतको रकम निकासा नभएको बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत आएपछि निकासा गरिने बास्कोटाले जानकारी दिनुभयो ।
गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत आएको पनि एक महिना बढी समय भएको स्थानीय गिता पोखरेलको भनाइ छ ।