पर्सा जिल्लाको एकमात्र इलाका प्रशासन कार्यालय, सुपौलीको सेवा अवरुद्ध भएको छ । त्यहाँको जिम्मेवारी पाएका शाखा अधिकृत विनय श्रीवास्तव तालीमको लागि जापान गएपछि अहिले सेवा ठप्प भएको हो ।
उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय, पर्साले अर्का शाखा अधिकृत सुमीतकुमार सिंहलाई खटाएको थियो । सिंह फागुन ३ गते एक दिन खटेर पुनःजिल्ला प्रशासन कार्यालय, पर्सामा कार्यरत छन्। जिल्ला प्रशासन कार्यालय, पर्सामा चारजना शाखा अधिकृतको दरबन्दी रहेकोमा तीनजना कार्यरत रहेको र त्यसमा पनि एकजना तालीमको लागि बाहिर गएकाले अहिले दुईजना मात्र शाखा अधिकृत छन् । अधिकृत अभावमा इलाका प्रशासन कार्यालय, सुपौलीमा शाखा अधिकृत खटाउन नसकिएको जिल्ला प्रशसान कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकरी भिमकान्त पौडेलले बताउन भयो ।
जीराभवानी गाउँपालिका–४ सुपौलीमा रहेको इलाका प्रशासन कार्यालयले एक वर्षदेखि साताको एक दिन बुधबार मात्र सेवा प्रवाह गर्दै आएको छ । करीब सात वर्ष अगाडि स्थापना भएको इलाका प्रशासन कार्यालयले बिहीबार र शुक्रबार साताको दुई दिन सेवा प्रवाह गर्दै आएको थियो । हालका दिनमा सातामा एक दिन सेवा प्रवाह हुँदा एक पटकमा ५० देखि ७० ओटासम्म नागरिकता वितरण हुन्छ भने सोही अनुपातमा प्रतिलिपि र सिफारिशका काम पनि हुने गरेका छन् ।
ठोरी, जीराभवानी, जगरनाथपुर र पटेर्वासुगौलीका जनता जिल्ला प्रशासन कार्यालय, पर्सासम्म धाउनु नपरोस् भनेर इलाका प्रशासन कार्यालय, सुपौली स्थापना गरिएको हो । तर स्थापनादेखि अहिलेसम्म सो कार्यालय नियमितरूपमा सञ्चालन हुन सकेको छैन । सातामा एक दिन मात्र जनताले सेवा पाउने र सो दिन पनि कहिले सार्वजनिक बिदा, कहिले कर्मचारी अभाव जस्ता घटनाले नियमित सेवा पाउनबाट त्यहाँका जनता वञ्चित छन् । इलाका प्रशासन कार्यालय, सुपौली स्थापना हुनुअघि बनेका नागरिकताको आधारमा जिल्ला प्रशासन कार्यालय, पर्साबाट सोको प्रतिलिपि लिन सकिने जिल्ला प्रशासन कार्यालय, पर्साले जनाएको छ । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि बनेका नागरिकताको प्रतिलिपि भने सुपौलीबाटै लिनुपर्ने बाध्यता छ । सुपौलीबाट सेवा लिनुपर्नेहरूलाई भने अहिले मर्का परेको पटेर्वा सुगौली–४ का रामसुरथ चौधरीले बताए ।
इलाका प्रशासन कार्यालय सुपौलीका कारण सेवा नपाएका नागरिकको गुनासो जनप्रतिनिधिकोमा पुगेको छ । नागरिकको गुनासोलाई समबोधन गर्न सेवाकेन्द्र भित्रका चारओटै गाउँपालिकाका प्रमुख सहित जनप्रतिनिधि र सामाजिक अगुवाले पहल गर्नु पर्ने पटेर्वा सुगौली गाउँपालिका–२ का वडाध्यष बिजय गैरेको भनाई छ ।
इलाका प्रशासन कार्यालयबाट सेवा नपाएपछि सेवाग्राहीले सामाजिक संजाल मार्फत बिरोध गर्न थालेका छन् । पटेर्वा सुगौली–२ का दीपक रसाइलीले समाजिक संजालमा यस्तो लेखेका छन “यो इलाका प्रशासन कार्यलयले जनतालाइ सुबिधा भन्दा सास्ती बढी दिएको छ । १ पटकको कामलाइ विभिन्न बहाना मा १४ पटक सम्म दौडाउने काम गर्छ । एक त यातायात को सुबिधा छैन विभिन्न जोड्जाम गरेर सेवाग्राही पुग्दा कहिले कर्मचारी भेटिदैनन कहिले कागजमा त्रुटि देखाएर अर्को दिन आइज भन्छन । जनताको सुबिधा को लागि राखिएको इलाका प्रशासन हुनु भन्दा नहुनु ठिक छ।”