INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला हत्या कसूरमा तीन वर्ष कैद सजाय

राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी शव लुकाएको कसूरमा सोही ठाउँका ५५ वर्षीय नन्दी मण्डललाई फागुन १८ गते तीन वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले मण्डललाई बेचनीदेवी साहको हत्या गरेको कसूर ठहर गर्दै साढे दुई वर्ष कैद र शव लुकाएकोमा थप ६ महिना कैद गरी तीन वर्ष कैद सजाय गरेको हो ।

अदालतमा हाजिर भई पुर्पक्षका लागि कारागारमा थुनामा रहेका सोही ठाउँका ५० वर्षीय ताराचन्द्र साह र ६४ वर्षीय गोपीचन्द्र साहले अभियोग दावीबाट सफाइ पाएका छन् । अदालतमा ०७९ कात्तिक १६ गते नन्दी र ताराचन्द्र तथा कात्तिक २७ गते गोपीचन्द्र हाजिर भएका थिए । उनीहरू तीनै जना हाजिर भएकै दिनदेखि पुर्पक्षका लागि राजविराजमा कारागारमा थुनामा छन् ।

शव २०७५ जेठ ३१ गते उनकै घरको शौचालयको सेफ्टी ट्यांकमा फेला परेको थियो । गाउँमा दुर्गन्ध फैलिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोलीले उनको घरको उत्तरतर्फ रहेको शौचालयको सेफ्टी ट्यांकबाट सडेगलेको अवस्थामा ०७५ असार १ गते उत्खनन गरी फेला पारेको थियो । शवको धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार १ गते पोष्टमार्टम भएको थियो ।

भारत पञ्जाबको जालन्धरबाट २४ वर्षपछि ०७२ असार ११ गते घर फर्केको भनिएका सुर्यनारायण साहले ०७२ सालमै छिन्नमस्ता गाउँपालिका–६ लालापट्टी खुदीभखारीकी बेचनीसँग विवाह गरेका थिए । मृतकका बुबा ४२ वर्षीय रामकुमार साहले असार ६ गते जिल्ला प्रहरी कार्यालयमा मृतककी सासु ५५ वर्षीय सोमनीदेवी भनिने शोमादेवी साह, मृतकका देवर ३५ वर्षीय मुर्जा भनिने पञ्चदेव साह, निजकी पत्नी ३१ वर्षीया प्रमीलादेवी साह, उनीहरूका छोरा १६ वर्षीय सन्तोषकुमार साहले हत्या गरेको भन्दै किटानी उजुरी दिनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयले ०७५ असार २९ गते उजुरी दर्ता गरेको थियो । प्रहरीले हत्या आरोपमा पञ्चदेवसहित राजविराज नगरपालिका–१५ मुसहर्नियाका २४ वर्षीय धर्मेन्द्र साह र ५० वर्षीय थापा भनिने जिवछ साहलाई साउन ७ गते गिरफ्तार गरेको थियो । यसैगरी प्रहरीले साउन ९ गते प्रमीलादेवी र निजका दाजु डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका ३६ वर्षीय सत्यनारायण साहलाई गिरफ्तार गरेको थियो । मृतकका पति सुर्यनारायण र निजकी छोरी २ वर्षीया प्रतिभालाई समेत जेठ २९ गते हत्या गरेर नदीमा फालेको आशंकामा प्रहरीले खोजी गरेपनि शव फेला परेन ।
जिल्ला अदालतको ०७५ भदौ ६ गतेको आदेशले गिरफ्तार आरोपित पाँचै जना पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । अदालतको इजलाशले ०७८ भदौ २७ गते पञ्चदेव र प्रमिलादेवीलाई जन्मकैद सजाय गरेको थियो । सत्यनारायण साहको हकमा ३ वर्ष कैद सजाय फैसला भएकोमा फैसला मितिमा कैद भुक्तान भएकोले रिहा भएका थिए । सोही दिन थुनामा रहेका सोही ठाउँका २४ वर्षीय धर्मेन्द्र साह र ३५ वर्षीय जिवछनारायण साहले अभियोगबाट सफाइ पाएका थिए । अदालतमा ०७८ पुस १९ गते हाजिर भएका ३५ वर्षीय जयनारायण साह सोही दिनदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा गएकोमा ०७९ भदौ २९ गतेको इजलाशबाट सफाइ पाएका थिए ।
आरोपितहरूले सुर्यनारायण बनेर आउने व्यक्तिले नै पत्नीको हत्या गरी छोरी लिएर फरार भएको बताउँदै आएका छन् ।

अन्य

भिडियो