सुनवर्षी नगरपालिका–१ का १४ वर्षीय बालक विशाल माझीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी ३४ वर्षीया पत्नी डल्ली पासवानलाई फागुन १७ गते गिरफ्तार गरेको छ ।
फागुन ११ गते साँझ घरबाट चोकतिर घुम्न निस्किएका विशाल घर फर्किएर नआएपछि अभिभावकले खोजीका लागि प्रहरीमा खबर गरेका थिए ।
खोजीका क्रममा बालकको हत्या गरी लास सुनवर्षी नगरपालिका–१ स्थित पोखरीको डिलमा गाडेको छ भन्ने सूचनाका आधारमा पीडित पक्षले फागुन १७ गते इलाका प्रहरी कार्यालय रङ्गेलीलाई खबर गरेको थियो ।
पीडित पक्षको सूचनाका आधारमा घटनास्थलको उत्खनन गर्दा बालकको लास फेला परेको र सोही आधारमा आरोपितलाई अनुसन्धानका गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी टिकाबहादुर कार्कीले बताउनु भयो ।
शवको पोष्टमार्टम कोशी अस्पतालमा फागुन १७ गते गरिएको छ ।
पीडित पक्षले फागुन १७ गते शव बुझी सोही दिन सुनवर्षी नगरपालिका–१ स्थित बक्राहाघाटमा सद्गत गरेको छ ।