पलाता गाउँपालिका–४ की २२ वर्षीया इश्वरा बुढालाई कुटपिट गरेको आरोपमा प्रहरीले उनका पति २३ वर्षीय श्रृष्ठराज बुढालाई फागुन १७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले जेठ १५ गते अर्काे विवाह गरी सुर्खेत राखेर घरमा आएपछि कान्छी पत्नी घरमा ल्याउँछु भन्दै नाबालक छोरासहित जेठ २८ गते राती कुटपिट गरी घर निकाला गरेका थिए ।
पतिले घर निकाला गरेपछि साथमा रहेको चार वर्षीय नाबालक छोराको र आफ्नो पालनपोषणका लागि दावी सहित जिल्ला अदालतमा उजुरी दिएकी पीडित बुढा अदालतमा तारेखको लागि आउदा सदरमुकाम मान्म स्थित प्रतिमा चोकमै कुटपिट गरेको कालिकोटका जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वरा रिमालले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।
घर निकाला भएकी पीडितले कानूनी प्रक्रियामा जान आर्थिक समस्या भएको भन्दै इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतलाई सहयोगका लागि जेठ ३० गते निवेदन दिएपछि असार १३ गते कानूनी प्रक्रियाका लागि इन्सेकले नगद रु ५ हजार सहयोग गरेको थियो ।
इन्सेकले न्यायको ढोकासम्म पुग्न गरेको सहयोगका कारण आज पीडक मेरो पति कानूनको दायरामा जानु प¥यो अब अदालत र प्रहरी प्रशासनले पनि मलाई न्याय दिलाउने छ भन्ने आशामा रहेको पीडित इश्वराले बताउनु भयो ।