INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसूरमा १३ वर्ष कैद सजाय

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने आरोपितमध्ये डाक्नेश्वरी नगरपालिका–८ प्रवाहा घर भई शम्भुनाथ नगरपालिका–१२ अर्नाहा चोक बस्ने ३० वर्षीय मनोज विश्वकर्मालाई बलात्कार कसूर ठहर गर्दै फागुन १५ गते १३ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलाशले विश्वकर्मालाई १३ वर्ष कैदका साथै १ लाख रुपियाँ पीडितका लागि क्षतिपूर्ति भराउन र १ हजार ८ सय रुपियाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गराउन फैसला भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।

अन्य आरोपितहरू खडक नगरपालिका–४ पन्सेरा घर भई बोदे बर्साइन नगरपालिका–५ बजार बस्ने २१ वर्षीय कैला विश्वकर्मा र बोदे बर्साइन नगरपालिका–६ फुलकाही खमगाडा घर भई बोदे बर्साइन नगरपालिका–५ स्थित बजार बस्ने ३५ वर्षीय दिपक विश्वकर्मा फरार रहेकाले उनीहरूका हकमा फागुन १५ गते नै मुद्दा मुल्तबीमा राख्ने अन्तिम आदेश भएको छ ।

आरोपितहरूले ०७७ मङ्सिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका दाजुले जिल्ला प्रहरी कार्यालयमा ०७७ मङ्सिर ३ गते उजुरी दिनुभएको थियो । धान खेत गएका बुबाको प्रतिक्षामा आगो तापेर घर अगाडि बसेकी पीडित शौचालय गएको मौका छोपी आरोपितहरूले घिस्याउँदै डाक्नेश्वरी नगरपालिका–८ प्रवाहास्थित विषहरिया टोलदेखि दक्षिण श्यामलाल सरकारको बाँसघारी लगेर बलात्कार गरेको पीडितले बताउनु भयो । भयभित पीडित बेहोस भई काप्न थालेपछि आरोपितहरू फरार भएका थिए । परिवारका सदस्य र गाउँलेहरूले खोजी गरी बेहोस अवस्थामा ०७७ मङ्सिर १ गते राति पीडितलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेका थिए ।

घटनास्थलबाट आरोपित मनोजको स.३प ५६५९ नम्बरको मोटरसाइकल, पीडितको सल र केश च्याप्ने चिम्टी फेला परेको प्रहरीले जनाएको छ । पीडितको राजविराजस्थित अस्पतालमा ०७७ मङ्सिर २ गते स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयले मङ्सिर ३ गते बलात्कारको उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतले फरार रहेका आरोपितहरूका लागि ०७७ पुस ९ गते पक्राउ पुर्जी जारी गरेको थियो । आरोपितमध्ये मनोज मात्र ०७८ कात्तिक ६ गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०७८ कात्तिक ३० गते अभियोजनपत्र दायर भएकोमा ०७८ माघ ३ गतेदेखि मनोज पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो