प्रमुख निर्वाचन अधिकृतको रूपमा चितवन जिल्ला अदालतका न्यायाधीश खटिएका कारण अदालतको कामकाज प्रभावित भएको छ ।
न्यायाधीश कविप्रसाद न्यौपाने झण्डै २ महिनादेखि भरतपुर महानगरपालिकाको निर्वाचनमा व्यस्त रहँदा चितवन अदालतमा उनले फैसला गर्नुपर्ने मुद्दाहरू प्रभावित बनेका हुन् ।
गत जेठ २१ गते गोरखा जिल्ला फुजेलका कृष्णप्रसाद अधिकारी हत्या काण्डको मुद्दा पेशी रहेकोमा पुनः सरेको छ । ‘मुद्दा हेर्ने न्यायाधीश निर्वाचन कार्यक्रममा व्यस्त हुँदा मुद्दा पुनः सरेको हो ।’-चितवन अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले भने-‘निर्वाचन प्रक्रिया लम्बिँदा मुद्दा फैसलामा प्रभाव परेको छ ।’
अधिकारी हत्या मुद्दा आगामी असार २८ गतेका लागि सरेको छ । चैत २८ मा पनि यस मुद्दा पेशी रहेकोमा न्यायाधीश निर्वाचन तालिममा धुलिखेल जाँदा पेशी सरेको थियो । २०७० साल चैत महिनामा चितवन अदालतमा दर्ता भएको यस मुद्दामा हाल सम्म १४ पटक पेशी सरेको छ । फौजदारी मुद्दा २ वर्षअवधि कटेको यही एउटा रहेको श्रेष्तेदार पन्तले जानकारी दिए ।
गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते चितवन रत्ननगरको बकुल्लहरचोकमा माओवादीले अपहरण गरी हत्या गरेका थिए ।