INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसूरमा कैद सजाय

४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा तिरहुत गाउँपालिका–३ गोइठीका ४० वर्षीय महेन्द्र महात्मान यादव, भारत घर भई हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज भनिने सुर्यनारायण साहलाई ०७९ फागुन ११ गते जनही ५ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलाशले कसूर ठहर भएकाहरूलाई जनही ५० हजार रुपियाँ पीडितका लागि क्षतिपूर्ति भराउन र फौजदारी कसूर पीडित राहत कोषमा १ हजार ३ सय रुपियाँ जम्मा गराउन समेत फैसला गरेको छ ।
सुर्यनारायण साह २०७४ कात्तिक १२ गते गिरफ्तार भएकोमा जिल्ला अदालतको आदेशमा मङ्सिर ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अर्का महेन्द्र महात्मान यादव ०७५ माघ २ गते हाजिर भएकोमा ३५ हजार रुपियाँ धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा भएका छन् ।

उक्त घटनामा सहयोग गर्ने मतियार हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका ३५ वर्षीय बमबम मुखियालाई १ वर्ष कैद सजाय भएको छ । ०७४ माघ १९ गते गिरफ्तार भएका मुखिया पनि अदालतको आदेशमा ३५ हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका थिए ।
आरोपितहरूले २०७४ जेठ ५ गते विहान बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ५ गते नै उजुरी दिनुभएको थियो । आफ्नो पसलमा एक्लो सुतेकी पीडितलाई आरोपितमध्ये यादव र साहले बलात्कार गरेको र अन्यले हात खुट्टा समाएर सहयोग गरेको पीडितले बताउनु भएको थियो । घटनापछि फरार रहेका आरोपितहरूका आफन्तले पैसा लिएर मिल्न दवाव दिएको समेत पीडितले बताउनु भएको थियो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जेठ ५ गते स्वास्थ्य परिक्षण भएको थियो । सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले जेठ ७ गते आरोपितहरूविरुद्ध उजुरी दर्ता गरेको थियो ।

अन्य

भिडियो