मोरङको विराटनगर महानगरपालिका–३ स्थायी घर भई चैनपुर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालयमा सहायक वन अधिकृत पदमा कार्यरत ४९ वर्षीय नविनराज दाहाललाई फागुन १० गते कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का कार्यकर्ता लोकेन्द्र लिम्बूलाई गिरफ्तार गरेको छ ।
कर्मचारीलाई कार्यकक्ष मै कुटपिट गरेको आरोपमा चैनपुर नगरपालिका–४ मैदानेका २९ वर्षीय लोकेन्द्र विष्टलाई फागुन १० गते राति खाँदवारी नगरपालिका–७ नयाँ बजारबाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
विप्लव कार्यकर्ताको कुटपिटबाट सहायक वन अधिकृत दाहालको टाउकोमा चोट लागेको छ । कुटपिटबाट घाइते पीडितको फागुन १० गते जिल्ला अस्पतालमा उपचार गरिएको छ । दाहालको टाउकामा ६ टाँचा लगाइएको जिल्ला अस्पतालले जनाएको छ ।
विप्लव कार्यकर्ताले चन्दा मागेको र आफूले दिन अस्वीकार गरेपछि कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरेको पीडितको भनाइ छ ।
६-७ जनाको सङ्ख्यामा आएका विप्लव कार्यकर्ताले वन कार्यालय भित्रै प्रवेश गरेर सहायक वन अधिकृत दाहाललाई कुटपिट गरेको डिभिजन वन कार्यालयका प्रमुख डाक्टर इन्द्र सापकोटाको भनाइ छ ।
पीडित पक्षले घटनामा ६-७ जनाको संलग्नता भनेपनि सो कुराको पुष्टि हुन बाँकी रहेको डिएसपी वीरेन्द्र गोदारको भनाइ छ ।
कुटपिटमा संलग्नहरूको खोजी गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै जिल्लास्थित विभिन्न कर्मचारी सङ्गठनले प्रमुख जिल्ला अधिकारीलाई फागुन ११ गते ज्ञापनपत्र बुझाएका छन् ।
कर्मचारीको सुरक्षा प्रत्याभूति गर्न, पीडितको औषधि उपचार र दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामति, नेपाल निजामति कर्मचारी सङ्गठन र नेपाल निजामति यूनियनले संयुक्त विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका छन् ।

