विस्फोटक पदार्थ पड्किएर घाइते भएका पोखरा महानगरपालिका– ३३ भरतपोखरी ठूलढुंगाका दुई जना बालकको स्वास्थ्य अवस्थाका बारे इन्सेक सहित बाल अधिकार मञ्च का अधिकारकर्मीले जानकारी लिएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेल, कार्यक्रम अधिकृत सवनम शर्मा, प्रलेख अधिकृत रेनुका बि.क, सिवीन पोखराका कृष्णा गुरुङ, बालहितकारी परियोजना नेपालका संयोजक केशव पौडेल तथा बाल अधिकार मञ्च कास्कीको टोलीले फागुन १० गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगी घाइते बालकको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको हो ।
फागुन ९ गते विस्फोटक पदार्थ पड्किँदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका हुन् । उनीहरू दुवै जना स्थानीय शिशु कल्याण मा.वि.मा कक्षा ८ र ५ मा अध्ययनरत विधार्थी हुन् ९ गते बिदा परेकाले दुवै जना नजिकै रहेको जंगलमा खेल्न गएका थिए ।
बल जस्तो बस्तु देखेर खेलाउने कुरा ठानी घरमा ल्याएर खेलाउँदा विस्फोट भएको घाइते बालक चौधरीले बताउनुभयो । चौधरीको दुवै हातमा चोट लागेको छ । दाहिने हातमा बढी चोट लागेको बुबा मीलन चौधरीले जानकारी दिनुभयो । हातबाट केहि छर्रा निकालिएको र अझैं केहि छर्रा बाँकी रहेको बुबा मीलन चौधरीले जानकारी दिनुभयो । तामाङको भने दाँया हात र खुट्टामा चोट लागेको आमा विष्णुमाया तामाङले बताउनुभयो । दुवै परिवारले सामान्य ज्याला मजदुरीको काम गर्दै आएको छ ।
घटना स्थलमा वरपरको क्षेत्रमा नेपाली सेनाले बेला बेलामा प्रशिक्षण गर्दै आइरहेको छ । त्यसैले घटनाबारे बुझ्न टोलीले फागुन १० गते नै विजयपुरमा रहेको पृतनामा पुगी सेनानी हरिश कुमार बम सँग भेट गरी घटनाको बारेमा जानकारी लिएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै सेनानी बमले अनुुसन्धानका लागि इन्जिनियरसहितको विज्ञ टोली खटाइएको जानकारी दिनुभयो ।
उहाँले प्रशिक्षणका क्रममा सेनाले राउण्ड फायरिङमात्र गर्ने भएकाले द्धन्द्धकालमा छाडिएको सकेट बम हुन सक्ने आशंका व्यक्त गर्नुभयो । इन्सेक संयोजक शिव खकुरेलले स्थानीयलाई सचेत बनाउन बेलाबेलामा सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

